गृहमन्त्रीको राजीनामा मागिनु पूर्वाग्रहपूर्ण र अनुचित हो: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा विपक्षी दलहरूले मागेकै आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नु नपर्ने बताएका छन्।

गृहमन्त्रीमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेको अवस्था‍मा प्रधानमन्त्रीले भने विपक्षीहरूले पूर्वाग्रहपूर्ण, निराधार र अनुचित भएको बताए।

१३ औं कान्तिपुर हाफ म्याराथनको शनिबार उद्घाटन गरेपछि आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको बताए। गृहमन्त्रीमाथि कुनै आरोप, छानबिन नभएकाले राजीनामा दिन नपर्ने प्रधानमन्त्रीको स्पष्ट भनाइ थियो।

गृहमन्त्रीमाथि कुनै आरोप केही पनि छैन। यो कुनै मुद्दा मामिला पनि भएको छैन। यो कुनै इस्यु होइन। गृहमन्त्रीको राजीनामा माग गर्नु नित्तान्त पूर्वाग्रहपूर्ण, निराधार,अनुचित क्रियाकलाप हो। त्यसकारण यस अनुचित क्रियाकलापलाई साथ दिन सकिँदैन। गृहमन्त्रीले राजीनामा गर्नु पर्दैन, त्यसकारण गर्नुहुन्न, प्रधानमन्त्रीले भने।

प्रतिपक्षी दलहरूले आफ्नो अस्तित्व देखाउनका लागि गृहमन्त्रीमाथि अनुचित आरोप लगाएको प्रधानमन्त्रीको भनाइ थियो । एउटा कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएर सोध्दैमा गृहमन्त्रीले राजीनामा गर्न आवश्यक नरहेको उनले बताए ।

विपक्षी तर्कहीन भएर हैन, साह्रै गम्भीर विषय बनेछ। मानिलिऊ कि ३५ किलो सुन ओसारेछ जस्तै हल्ला ! यो त साह्रै गम्भीर विषय हो ? गृह मातहतको कर्मचरीलाई अख्तियारले बोलाएर सोध्यो,यो त गृहमन्त्रीले राजीनामा दिनैपर्‍यो नि ! अख्तियारले किन सोध्यो ? के सोध्यो? थाहा छैन, उनले भने। कर्मचारी आफ्नो कामप्रति स्वयं जिम्मेवार हुनुपर्ने पनि प्रधानमन्त्रीको भनाइ थियो।

विपक्षी दलहरूले संसद्‌मा आधारहीन माग गरिरहेको ‌ओलीको भनाइ थियो। अस्तित्व प्रकट गर्न यति कमजोर भइसक्नुभयो ? राजनीतिक पार्टी कि अस्तित्व देखाउनका लागि कुनै आधार नभए पनि चिच्याइहाल्नुपर्ने? त्यसो त यसमा म कुनै आधार देख्दिनँ, उनले भने,कुनै ठूलो महानुभावले पनि यो त राजीनामा दिनैपर्ने विषय हो, राजीनामा नगराई सकिँदैन, यो बटम लाइन हो।

यो बटमलाइन पूरा हुन्छ त ? प्रधानमन्त्रीले स्पष्ट पारे,म तपाईंहरूलाई भन्दिनँ चाहन्छु झोला किन्देऊ भन्दा किनिदिन सकिन्छ। हात्ती किनिदेऊ भन्दा अलि महँगो पर्ला किनिदिन सकिन्छ।

अब झोला थापेर हात्ती हालिदे, हात्ती हालिदे! तपाईंको छोरालाई जति माया गर्नुस् हात्ती झोलामा हाल्न सक्नुहुन्न। त्यसकारण तपाईंले गुडिया हात्ती नै खोज्या हो भने त हाल्दिउँला तर रियल हात्ती अँट्छ र रु यसरकारण यस्तो असम्भव माग गर्नु हुँदैन।