आज यी चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं। हाल देशको पश्चिम र मध्य भुभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार बिहान कोशी, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भएको छ। पछिल्लो एक घन्टामा सप्तरीको बरमझियामा १४ मिलिमिटर वर्षा मापन भएको छ।

धनकुटा, सुनसरी, सप्तरी, ललितपुर र मकवानपुरका केही ठाउँहरूमा छिटपुट वर्षा भएको महाशाखाको वेबसाइटमा उल्लेख छ।

आइतबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान छ।

त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।

राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको उच्चपहाडी तथा हिमाली भूभागका ‍एकदुई स्थानमा राति पनि हल्का वर्षा,हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।