दुई बुँदे सहमतिपछि फेरि बढ्यो कांग्रेस–एमाले र माओवादीबीच दूरी
काठमाडौं। दुई बुँदे सहमतिले नजिकिएका नेपाली कांग्रेस–नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फेरि दूरी बढ्न थालेको छ। राजनीतिक दलहरूले सम्झौताका बुँदाहरूलाई आ–आफ्नै स्वार्थ अनुकूल व्याख्या र प्रयोग गर्न थालेपछि समस्या समाधानको बाटो खुल्नुको सट्टा झन् जटिल बन्दै गएको छ।
राजनीतिक घटनाक्रमलाई हेर्दा नेकपा एमालेलाई अहिले संसद् खुल्नुभन्दा नेकपा माओवादी केन्द्र आलोचित बन्दामा बढी मज्जा लागेको देखिन्छ। एमाले नेता सूर्य थापाले भर्खरै सामाजिक सञ्जालमार्फत माओवादी केन्द्रको घट्दो लोकप्रियताप्रति खुशी व्यक्त गरेका छन्।
थापाले विभिन्न आन्दोलन र अभियानमार्फत कमाएको माओवादी केन्द्रको लोकप्रियता अहिले धुलिसाँध भएको र पार्टीका पखेटा काटिएकोमा सामाजिक सञ्जालबाटै हर्षबढाइँ गरेका छन्। उनका यस्ता अभिव्यक्तिले राजनीतिक दलहरूबीच बढ्दो कटुताको संकेत गरेको छ।
यस्तो अवस्थाले राजनीतिलाई थप कमजोर बनाउने र राष्ट्रिय एकताका लागि चुनौती खडा गर्ने सम्भावना बढ्दै गएकाे छ। दलहरूबीच बढ्दो अविश्वास र प्रतिस्पर्धाले मुलुकको राजनीतिक स्थिरतामा नकारात्मक प्रभाव पार्न सक्ने देखिएकाे छ।
