रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक,लोगोमा रवि र बालेनको तस्बिर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी असारमा आयोजना हुन गइरहेको आफ्नो ऐतिहासिक ‘प्रथम राष्ट्रिय महाधिवेशन’ को आधिकारिक (अफिसियल)लोगो सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यालयले एक औपचारिक निर्णय र जानकारीसहित महाधिवेशनको मूल पहिचान झल्किने गरी तयार पारिएको लोगो सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको लोगोमा रास्वपाको क्रान्तिकारी पहिचान र वर्तमान राजनीतिक शक्ति सन्तुलनलाई प्रस्ट रूपमा समेटिएको छ।

रास्वपाले आफ्नो स्थापना कालदेखि नै प्रयोग गर्दै आएको र क्रान्तिको प्रतीक मानिएको ‘स्काई ब्लु’ (निलो) रङलाई लोगोको मुख्य पृष्ठभूमिको रूपमा राखिएको छ।

लोगोको मध्यभागमा पार्टीका संस्थापक सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को तस्बिरलाई विशेष रूपमा सजाइएको छ।

रास्वपाको निर्वाचन चिह्न ‘घण्टी’ लाई पनि लोगोको महत्त्वपूर्ण अङ्गको रूपमा समायोजन गरिएको छ।

रास्वपाको यो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ। महाधिवेशन चितवनको भरतपुरस्थित चितवन उद्योग संघको प्रर्दशनी केन्द्र (चितवन एक्स्पो सेन्टर) मा सञ्चालन हुने पार्टी सचिवालयले जनाएको छ।

देशभरि तीव्र रूपमा पार्टी सदस्यता विस्तार र प्रदेश तहका अधिवेशनहरू सम्पन्न गरिसकेको रास्वपाले यस महाधिवेशनलाई आफ्नो नीति, विचार र सांगठनिक संरचनालाई थप सुदृढ बनाउने अवसरको रूपमा लिएको छ।

प्रतिनिधि सभा निर्वाचनमा देशकै सबैभन्दा ठूलो दल बनेपछि हुन लागेको यो पहिलो महाधिवेशन भएकाले पनि यसलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

लोगो सार्वजनिक गरेसँगै रास्वपाले आफ्ना सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तक तथा आम नागरिकहरूलाई महाधिवेशन भव्य र सभ्य रूपमा सफल पार्नका लागि आ-आफ्नो स्थानबाट सहयोग र ऐक्यबद्धता जनाउन हार्दिक आह्वान समेत गरेको छ।