मधेश प्रदेशमा खानेपानी र सिंचाईको गम्भीर संकट, गृहमन्त्रीले दिए तत्काल मस्याको पहिचान गर्न सिडिओहरूलाई निर्देशन
काठमाडौं। गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशमा बढ्दो खानेपानी र सिँचाइको समस्यालाई मध्यनजर गर्दै स्थानीय तहका प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीहरूसँग आपतकालीन छलफल गर्नुभएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज भर्चुअल रूपमा आयोजित समन्वयात्मक बैठकमा मन्त्री लेखकले नागरिकको बढ्दो पीडालाई ध्यानमा राख्दै सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो।
बैठकमा मन्त्री लेखकले खानेपानी र सिंचाईको गम्भीर समस्या भएका क्षेत्रहरूको तुरुन्त पहिचान गरी प्राथमिकताका आधारमा डिप ट्युववेल र डिप बोरिङ जडान गर्ने कार्यमा तत्काल लाग्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभयो। उहाँले पानीको स्रोत नभएका वा सुकेका क्षेत्रमा ट्याङ्करबाट पानी वितरणलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिँदै यसका लागि सुरक्षा निकायसहित निजी क्षेत्रका ट्याङ्करको समेत प्रभावकारी उपयोग गर्न निर्देशन दिनुभयो।
सरकारी कार्यालय, विद्यालय, अस्पताल, गैरसरकारी संस्थाका कार्यालयमा पानीको स्रोत रहेको छ भने पानी खानका लागि तिनको पनि उपयोग गरियोस्,ू मन्त्री लेखकले भन्नुभयो। उहाँले विपद् संकटको अवस्थाको फाइदा उठाएर कसैले कार्टेलिङ र कालोबजारी गर्न नपाउने गरी सख्त अनुगमन गर्न सुरक्षा निकायलाई स्पष्ट निर्देशन पनि दिनुभयो।
बैठकका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनियर दिनेश प्रसाद भट्टले प्राधिकरणले राष्ट्रसंघीय निकायहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र रेडक्रसलाई आफ्ना कार्यक्रमहरू आवश्यकताअनुसार परिमार्जन गरी मधेशमा केन्द्रित गर्न अनुरोध गरिसकेको जानकारी दिनुभयो।
बैठकमा मधेश प्रदेशलगायत सुक्खाग्रस्त जिल्लाका स्थानीय तहका मेयर एवं अध्यक्षहरू र प्रमुख जिल्ला अधिकारीहरूले आफ्ना स्थानीय तह एवं जिल्लाको वर्तमान अवस्थासहित समस्या समाधानका लागि भइरहेका पहलहरूबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।
नेपाल सरकार मन्त्रिपरिषद्ले असार ८ गते मधेश प्रदेशभर तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। यसअघि पानीको स्रोत तथा मुहानहरू सुकी खानेपानी तथा सिंचाई कार्यमा गम्भीर समस्या उत्पन्न भएपछि असार २६ गते मधेश प्रदेश सरकारले मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।
