बाघको सङ्ख्या ४२९ पुग्यो-चार वर्षमा ७४ वटा थपिए

फाइल तस्वीर

काठमाडौं। नेपालमा बाघको सङ्ख्या ४२९ वटा पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाघ गणना नतिजा सार्वजनिक गर्नुभयो । यसअघि सन् २०२२ मा सार्वजनिक विवरणअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ थियो। पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ।

त्यहाँ १४५ वटा पाटेबाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा ११२ बाघ गणना भएको छ । त्यस्तै पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा ५० बाघ भेटिएको विवरण छ ।

नेपालमा हरेक चार वर्षमा बाघ गणना गरिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा। बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको सङ्ख्या सन् २०१० मा १२१, सन् २०१४ मा १९८ र २०१८ मा २३५ रहेको थियो ।

विश्वमा सन् २०१० मा झण्डै तीन हजार २०० को सङ्ख्यामा रहेको बाघको सङ्ख्या सन् २०२५ को तथ्याङ्कअनुसार बढेर पाँच हजार ३५७ पुगेको छ । सन् २०१० मा रुसमा भएको बाघ शिखर सम्मेलनबाट यसको सङ्ख्या सन् २०२२ सम्म दोब्बर बनाउने लक्ष्यअनुरुप नेपालले बाघको संरक्षण र सङ्ख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ ।