सरकारविरुद्ध मिराज ढुंगाना समूह सडकमा उत्रिँदै

काठमाडौं। संयुक्त जेनजी आन्दोलनले आज काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ। आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्ने आन्दोलनले जनाएको छ। जेनजीको आन्दोलनपछि बनेको सरकारले जेनजीको माग अनुसार काम नगरेको भन्दै ओन्दोलनमा जान लागेका हुन्।

आन्दोलनले प्रधानमन्त्री सुशीला कार्कीलाई बालुवाटार र सिंहदरबार खाली गर्न चेतावनी समेत दिएको छ। सरकार नयाँ दलाल र भ्रष्टहरूले सत्ता कब्जा गरेको आरोप जेनजी आन्दोलनका प्रतिनिधिहरूले लगाएका छन्।

जेनजी आन्दोलनले चुनाव हुनै नसक्ने पनि बताएको छ। जेनी अगुवा मिराज ढुङ्गानाले अहिलेको अन्तरिम सरकारले सय दिनको अवधिमा न्याय र सुरक्षाका लािग कुनै पनि काम गर्न नसकेको भन्दै सर्वपक्षीय सरकारको माग गरेका छन्।

यसैबीच मिराज ढुंगाना नेतृत्वसहितको ‘जेन–जी’ समूहद्धारा घोषणा गरिएको ‘संयुक्त जेन–जी’ आन्दोलनको जेनजी इन्डिजिनियसले विरोध गरेको छ।

संयोजक संग्रामसिंह किराँतीले विज्ञप्ती जारी गर्दै ‘जेन–जी’ विद्रोहबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नका लागि एकताबद्ध हुनु पर्ने बेलामा अरुकै योजना र उक्सावटमा सर्वपक्षीय सरकारको माग गर्दै एकतर्फी आन्दोलनको घोषणाले अचम्मित भएको उल्लेख गर्दै ढुंगानालाई आन्दोलनको स्वामित्व लिएर हिरो नबन्न चेतावनी दिए।

ढुंगाना भ्रष्ट र बिद्रोहबाट विस्तापित समूहबाट परिचालित भाडाका मान्छे भएको आरोप लगाउँदै आज हुने भनिएको प्रदर्शनमा सहभागि नहुन संयोजक किराँतीले ‘जेन–जी’ युवाहरुलाई अपिल गरिएको छ।