महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली टोली घोषषा
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको छ।
क्यानले आइतबार इन्दु वर्माको नेतृत्वमा विश्वकप ग्लोबल छनोट खेल्ने १५ सदस्यीय अन्तिम टोली चयन गरेको हो। उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को यो प्रतियोगिता माघ २२ देखि फागुन ९ गतेसम्म हुँदै छ। नेपालले टी–२० विश्वकप क्वालिफायर घरमै खेल्ने छ।
नेपाल समूह ‘बी’ मा बङ्गलादेश, नामिबिया, नेदरल्यान्ड्स र पपुआ न्युगिनीसँग रहेको छ। समूह ‘ए’ मा आयरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड, अमेरिका र जिम्बाब्वे छन्। यस प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिम सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा चयन हुने छन्।
नेपालले छनोटको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग खेल्ने छ। त्यसपछि नेपालले जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४ मा जिम्बाब्वे र जनवरी २६ मा स्कटल्यान्डसँग खेल्ने छ।
आगामी विश्वकप इङ्रग्ल्यान्ड र वेल्समा जुन १२ देखि जुलाई ५ तारिखसम्म हुँदै छ। नेपाली महिला टिमलाई घरेलु मैदानको फाइदा र घरेलु समर्थकको ऊर्जामा पहिलो पटक विश्वकप खेल्ने वास्तविक अवसर पनि छ । प्रतियोगिता त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र मूलपानी क्रिकेट मैदानमा हुने छ।
नेपालले गत जेठमा थाइल्यान्डमा भएको एसिया छनोट पारेर गरेर महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेर इतिहास बनाएको थियो ।
यसका लागि क्यानले दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टिम चयन गरेको हो । बन्द शिविरमा रहेका पाँच खेलाडी रुबी पोद्धार, सना प्रविन, ईश्वरी विष्ट, सोनी पाख्रिन र लक्ष्मी साउद अन्तिम छनोटमा फालिएका छन्।
यसअघि प्रारम्भिक टिममा २६ खेलाडी सामेल थिए । विश्वकप छनोटका लागि क्यानले अनुभवी खेलाडीमा पनि भरोसा गरेको छ । ६३ वटा टी–२० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलिसकेकी अलराउन्डर सीता रानामगरले टिममा पुनरागमन गरेकी छन्। नेपालले विश्वकप टी–२० एसिया कप खेल्दा सीता टिम बाहिर थिइन्।
अन्य दुई क्रिकेटरमा काजल श्रेष्ठ र सुमन विष्ट पनि टिममा फर्किएका छन। अन्य खेलाडीमा पूर्वकप्तान रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, राजमती ऐरी र मनीषा उपाध्याय छन्।
ग्लोबल छनोटका लागि क्यानले २० दिनअघि भारतीय हर्सलजयन्त पाठकलाई महिला टोलीको प्रशिक्षकमा नियुक्त गरेको थियो । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक विदेशी प्रशिक्षक पाएको हो।
नेपालले विश्वकप ग्लोबल छनोटअघि आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ खेल खेल्ने छ।

