प्रहरीका ८ डीआईजीको सरुवा, चार प्रदेशका प्रहरी प्रमुख फेरिए
काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)का सरुवा भएको छ ।निर्वाचन नजिकिँदै गएका बेला प्रहरी प्रधान कार्यालय नक्सालले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको हो । त्यस्तै चारवटा प्रदेशमा प्रहरी प्रमुख हेरफेर भएका छन् ।
सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटबाट डीआईजी भूपेन्द्रबहादुर खत्रीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङ सरुवा गरिएको छ । कर्णाली प्रदेश कार्यालय सुर्खेतबाट डीआईजी माधवप्रसाद श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट ल्याइएको छ।
यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख रहेका डीआईजी राजेन्द्रप्रसाद भट्टलाई नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल खटाइएको छ ।
यसैगरी बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण पौडेललाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल ल्याइएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी दिनेशकुमार आचार्यलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागन्ज सरुवा गरिएको छ।


