सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

फाइल तस्वीर

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकीदेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ।

बाजुरा,बझाङ,अछाम डाेटी,दार्चुला,डडेल्धुरा र बैतडीलगायतका जिल्लामा हिउँदे पानीसँगै हिमपात सुरु भएको हाे। 

त्यस्तै बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा कुनै समस्या नरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए। दार्चुलाको व्यास र अपिहिमाल क्षेत्रमा हिमपात भएको छ । डडेल्धुरा सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ ।

यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन्। गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।