निर्वाचन बिथोल्न खोज्ने ४२ जना पक्राउ, कति छन् त हिरासतमा
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गरेको आरोपमा प्रहरीले ४२ जनालाई पक्राउ गरेको छ । जसमध्ये अहिले हिरासतमा भने १४ जना मात्रै रहेका छन् ।
देशभरबाट ४२ जनालाई नियन्त्रणमा लिइएको केहीलाई सम्झाई बुझाई छाडिएको, केहीलाई भने अदालतले छाड्न आदेश दिएकाले छाडिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेले बताए ।
अदालतको आदेशपछि आज बुधबार मात्रै नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं छुटेका थिए। मंगलबार मात्रै नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कटेल अदालतको आदेशपछि छुटेका थिए।
अहिले हिरासतमा नेकपा बहुमति पार्टीका धर्मेन्द्र बाँस्तोला, विष्णु तिमल्सिना छन्। तनुहँको शुक्लागण्डकी–७ टुडाका ४४ वर्षीय मनबहादुर गुरुङ, कास्कीका २४ वर्षीय गगन परियार पनि हिरासतमा छन्।
तनहुँकै व्यास नगरपालिका–१३ छाब्दीका ३२ वर्षीय अग्नी भनिने नेकपा बहुमतका केन्द्रीय सदस्य लक्ष्मण पाण्डे, माछापुच्छ्रे गाउँपालिका–२ का ३७ वर्षीय भीमसेन परियार पनि हिरासतमा छन्।
कपिलवस्तुको शिवराज नगरपालिका–१ का क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सदस्य ५८ वर्षीय शोभे थारु भनिने खोमे थारु पनि हिरासतमा छन् ।
दुर्गा प्रसाईं पक्राउ परेपछि बिरोध प्रदर्शनमा उत्रिएका रामचन्द्र कोहार,खेम गुरुङ,उनकी श्रीमती ४५ वर्षीया जिनसरी गुरुङ पक्राउ परेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
हरि बहादुर श्रीस, प्रेमकुमार थाम्सुहाङ्ग, देवी संग्रौला, गोपाल बोहरा पनि हिरासत छन्।
सुरक्षा स्रोतका अनुसार अहिले विभिन्न १२ वटा समूह चुनाव बहिष्कारमा लागेका छन्। १२ समूहबाट निर्वाचनमा सुरक्षा थ्रेट हुनसक्ने सुरक्षा निकायले विश्लेषण गरेका छन् । कम्युनिस्ट पार्टीदेखि राजावादीसम्मबाट सुरक्षा चुनौती हुनसक्ने प्रहरीको विश्लेषण छ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं समूहदेखि अन्य राजावादी समूहलाई पनि चुनौतीको रुपमा लिइएको छ।
प्रसाईंकै समूहको पीडीएफ (पब्लिक डिफेन्स फोर्स) र एटीएफ (एनी टाइम फोर्स)लाई पनि चुनाव बिथोल्न सक्ने समूहमा राखिएको छ।
शाही युवा शक्ति नेपालका पशुपति खड्कादेखि सन्तोष राजावादीसम्म सुरक्षा संयन्त्रको निगरानीमा छन्।
त्यसैगरी, सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमत पनि चुनाव बिथोल्न सक्ने समूहमा छन्।
विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, महेन्द्र मल्लको नेकपा जनपक्ष, ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टी, समाजवादी कम्युनिस्ट पार्टी नेपालको एउटा समूह,पहिचानवादी समूह, मंगोल नेसनल अर्गनाइजेसन र रोहिंग्या अर्थात् शरणार्थीहरूलाई पनि निर्वाचनमा चुनौती हुनसक्ने समूहमा राखिएको छ।
