रविको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले गत २ माघको निर्णय पनि पेश गर्न आदेश दिएको हो।

गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्। तर, दुई दिनपछि २ माघमा भने लामिछानेसहित अरू सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्।

यद्यपि, सर्वोच्चमा ३० पुसको मात्रै निर्णय पेश भएको भेटियो। त्यसपछि न्यायाधीशद्वयले २ माघमा भएको निर्णय झिकाएर पेश गर्न आदेश दिएको हो।

इजलासले रविको मुद्दा हेर्न नमिल्ने न्यायाधीशबाहेक अरू न्यायाधीश भएको इजलासमा मुद्दा पेश गर्नु भनी आदेश दिएको छ। सर्वोच्चको यो आदेशले रविसम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने देखिएको छ।