नेपाललाई समृद्ध बनाए नेपालीले सुख पाउने बाटो खुल्छः ओली

काठमाडौं।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई समृद्ध बनाएर मात्र नेपालीले सुख पाउने बाटो खुल्ने बताएका छन्।

विश्व आदिवासी दिवसको अवसरमा ओलीद्वारा जारी शुभकामना सन्देशमा ‘नेपाललाई समृद्ध बनाएरमात्र नेपालीले सुख प्राप्त गर्ने बाटो खुल्छ,उनले भनेका छन्, ‘राष्ट्रको यस गन्तव्यमा केही समय अल्झन आए पनि लामो समय यस्तो अवस्था रहन सक्दैन।

उनले दशकौं लामो संघर्ष र बलिदानबाट निर्मित समावेशी प्रतिनिधित्व, न्याय र समानतामा आधारित यस संविधानको रक्षा र सुदृढीकरण गर्ने दायित्व पनि हाम्रै भएको उल्लेख गरेका छन्। ‘यहाँका सम्पूर्ण समुदायको सहभागितामा देशलाई समृद्ध बनाउन हामीले सफलता प्राप्त गर्दै आएका पनि थियौँ’, उनले भनेका छन्।

३२औँ विश्व आदिवासी दिवसको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन्। ‘आज आदिवासी समुदायको हक, अधिकार, संस्कृति र विशिष्ट पहिचानलाई संयुक्त राष्ट्रसंघले लिपिबद्ध गरेको ऐतिहासिक दिन हो’, उनले भनेका छन्।

नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त देश भएको उनले उल्लेख गरेका छन्। ‘यस बहुसांस्कृतिक विशेषतालाई भिन्नताका रूपमा नभई राष्ट्रिय एकता र शक्तिका रूपमा सुदृढ गर्दै लैजानु पर्दछ,’ उनले भनेका छन्, ‘सदियौँदेखि कायम रहेको आपसी मेलमिलाप, भाइचारा र सहअस्तित्वको परम्परालाई हामीले अझ प्रगाढ बनाउनु पर्दछ।