तोडफोड,हिंसा,आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिने काम भयो: ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिने काम भएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बर्बाद भएको र त्यसै कारण खेलकुद लगायतका कुनै पनि क्षेत्र गतिका साथ अघि बढ्न नसकेको तर्क गरे।
ओलीले आफूले अनेक क्षेत्रबाट मुलुकलाई अघि बढाउने प्रयत्न गरेको भए पनि वर्तमान सरकारले देशलाई बर्बादीको बाटोमा अघि बढाएको आरोप लगाए । उनले आमजनताले न्याय पाउने गरी आफूहरूले देशलाई फेरि अघि बढाउने दाबी गरे।
“हामीले देशलाई अगाडि बढाउन खोज्यौँ। भुइँचालोले ध्वस्त बनायो, हामीले त्यसलाई उठायौँ। कोभिडले ध्वस्त पार्न खोज्यो, त्यसलाई हामीले उठायौँ । अर्थतन्त्र ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ।
तर, त्यो कुरा सैह्य भएन,ओलीले भने,विभिन्न शक्तिहरूले त्यसलाई संवैधानिक हिसाबले ढाल्न नसकेपछि असंवैधानिक हिसाबले, उपद्रवको हिसाबले तोडफोड,हिंसा,आगजनी,लुटपाट जस्ता कुराहरूबाट सरकार ढाल्ने बाटो समातियो । त्यसलाई वैधानिकता दिने काम भएको छ।
अध्यक्ष ओलीले हरेक नागरिकमा देशभक्तिको भावना आवश्यक रहेको बताए।
