लैंगिक हिंसा रोकथामलाई सरकारले प्राथमिकता दिएको छ: मन्त्री वादी
काठमाडौं। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको बताएकी छिन्।
बुधवार राष्ट्रियसभा बैठकमा प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा, रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था सम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन्।
मन्त्री वादीले लैंगिक हिंसाविरुद्ध सरकारले सामाजिक कार्ययोजना तर्जुमा गरेको पनि बताइन्। उनले लैंगिक हिंसा तथा डिजिटल हिंसा रोकथामका लागि मन्त्रालयले सचेतनामूलक अडियो, भिडियो सामग्री निर्माण गरी प्रशारणको तयारीमा रहेको पनि बताइन्।
सरकारले लैगिक हिंसाबाट पीडित र प्रभावित महिलाहरुका लागि २१ वटा स्थानीय तहमा सञ्चालनमा रहेका सुरक्षित आश्रयस्थललाई सहयोग प्रदान गर्दै आएको मन्त्री वादीको भनाइ थियो।
वादीले भनिन्‚ ‘मन्त्रालयले लैगिंक हिंसाविरुद्ध सामाजिक कार्य योजना तर्जुमा गरेको छ। उक्त कार्य योजनामा डिजिटल हिंसा रोकथामका विषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ।
लैंगिक हिंसा तथा डिजिटल हिंसा रोकथामका लागि मन्त्रालयले सचेतनामूलक अडियो, भिडियो, सामग्री निर्माण गरी प्रशारणको तयारी पूरा गरिएको छ।
यसका साथ मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति, २०८२ मा प्रविधिको दुरुपयोग गरी हुने मानव बेचविखन नियन्त्रणका लागि आवश्यक संयन्त्रको व्यवस्था गरिएको छ।
मन्त्री वादीले मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति, २०८२ मा प्रविधिको दुरुपयोग गरी हुने मानव बेचविखन नियन्त्रणका लागि आवश्यक संयन्त्रको व्यवस्था गरिएको समेत बताइन्।
