पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता
काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीम प्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरिएको छ। नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने र भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाउँदै बुधबार उजुरी दिएको हो।
काउन्सिलका अनुसार उपाध्यायले आफ्नो प्रमाणित फेसबुक अकाउन्टमार्फत असार १६ गते निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेको तस्बिर प्रयोग गरी आपत्तिजनक सामग्री सार्वजनिक गरेका थिए। उक्त पोस्टमा काउन्सिलका पदाधिकारीहरूलाई लक्षित गर्दै गालीगलौज र भ्रामक आरोप लगाइएको दाबी गरिएको छ।
मेडिकल काउन्सिलले आफ्नो नियमित कानुनी तथा नियमनकारी प्रक्रिया अन्तर्गत गरिएको कामलाई व्यक्तिगत रिसइबीका रूपमा चित्रण गरी संस्थामाथि भ्रम सिर्जना गरिएको जनाएको छ। साथै, यस्तो गतिविधि साइबर बुलिङसँग सम्बन्धित रहेको र विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ विपरीत भएको उल्लेख गरिएको छ।
काउन्सिलले प्रमाणस्वरूप सामाजिक सञ्जालमा गरिएको पोस्टका स्क्रिनसटसहित साइबर ब्युरोमा उजुरी दर्ता गराएको जनाएको छ। घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
