राष्ट्र बैंकलाई थप स्वायत्त,सक्षम र प्रविधिमैत्री बनाउन ऐन संशोधन गर्नु आवश्यक: अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप स्वायत्त, व्यवसायिक र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन अपरिहार्य भइसकेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा उक्त विधेयकमाथि भएको प्रारम्भिक छलफलमा भाग लिँदै उनले परिवर्तनशील आर्थिक परिवेश र प्रविधिको विकासका आधारमा ऐन परिमार्जन गर्नु आवश्यक रहेको स्पष्ट पारेका हुन्।

अर्थमन्त्री वाग्लेका अनुसार कोभिड-१९ को समयमा नेपालको भुक्तानी सन्तुलनमा चाप परेको बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट लिइएको विस्तारित कर्जा सुविधा (ईसीएफ)को क्रममा गरिएका सुधारका प्रतिबद्धताहरूलाई यसै संशोधनमार्फत सम्बोधन गर्ने प्रस्ताव गरिएको छ।

उनले नेपाल आईएमएफको सदस्य रहेकाले अन्तर्राष्ट्रिय संघ-संस्थाको सुझाव र मुलुकको आफ्नै आवश्यकतामा आधारित आर्थिक तथा वित्तीय स्थायित्वका लागि यस्ता सुधारहरू थप स्पष्ट पार्नुपर्ने बताए। साथै, बैंकको स्वायत्तताबारे छलफल गर्दै मन्त्री वाग्लेले केन्द्रीय बैंकलाई राजनीतिक हस्तक्षेपबाट टाढै राख्नुपर्नेमा जोड दिए।

सरकारको वित्त र राष्ट्र बैंकको मौद्रिक नीतिबीच समन्वयका लागि अर्थ सचिव बोर्डमा रहने व्यवस्था यथावत् राख्ने प्रस्तावसमेत रहेको उनले जनाए। यद्यपि प्रविधिको क्षेत्रमा बैंकको स्वतन्त्रता अक्षुण्ण राख्ने कुरामा भने उनले स्पष्ट पारे।

प्रविधिको दिगो विकाससँग जोडिएको डिजिटल करेन्सी को अवधारणालाई पनि कानुनी रूपमा समेट्ने गरी विधेयकमा प्रस्ताव गरिएको मन्त्री वाग्लेले जानकारी दिए। उनका अनुसार प्रस्तावित संशोधनमा वित्तीय संस्था, मुद्रा, मौद्रिक दायित्व र ऋण उपकरण जस्ता शब्दहरूको परिभाषालाई थप स्पष्ट पारिएको छ।

यसैगरी, गभर्नर तथा सल्लाहकारको नियुक्ति र पदमुक्ति, सल्लाहकार समितिको काम, कर्तव्य र अधिकार, तथा खुद आय र वितरणयोग्य आयको गणना जस्ता विषयलाई पनि समयानुकूल बनाउने प्रस्ताव विधेयकमा राखिएको छ। बैंक नोट तथा सिक्का निष्काशन, सुरक्षा व्यवस्था, र राष्ट्र बैंक कर्मचारीले असल नियतले गरेको कार्यमा जवाफदेही हुनु नपर्ने जस्ता प्रावधानहरू पनि व्यवस्थित गर्ने खोजिएको छ।

अर्थमन्त्रीले सावधिक ऐनको आधारभूत संरचना र उद्देश्यमा भने आमूल परिवर्तन नगरी हालको आवश्यकतालाई मात्र सम्बोधन गर्ने गरी संशोधन गरिएको बताएका छन्।