२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु, १३ जना घाइते

काठमाडौं। साउन २ गते साँझदेखि विभिन्न जिल्लामा लगातार वर्षा भइरहेको छ। वर्षाका कारण देशभर ५८ वटा घटना भएका छन्। बाढी र पहिरोको जोखिम रहेको भन्दै जोखिमपूर्ण ठाउँमा स्थानीय प्रशासनले सतर्कता अपनाएको छ।
पछिल्लो २४ घण्टामा भएका ५८ वटा विपद्का घटनामा परेर ३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बाढीका कारण खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ घर भएकी ४३ वर्षीया शान्ता राई र कोपिलासगढी गाउँपालिका–४ घर भएका ७१ वर्षीय पर्शुराम परियारले ज्यान गुमाएका छन्।
सर्पदंशका कारण दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित डोकथलीमा ५५ वर्षीय भक्तबहादुर थामीको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टाको अवधिमा विपद्मा परेका १ जनाको प्रहरीले उद्धार गरेको छ। १३ जना घाइते भएका छन्। अविरल वर्षा, आगलागी, चट्याङ, बाढी र पहिरोका कारण २३ लाख ६६ हजार आर्थिक नोक्सानी भएको प्रहरीको आकलन छ।
२०८३ वैशाख १ भन्दापछि विपद्का कारण १६८ जनाको मृत्यु भैसकेको छ। तीन महिनाको अवधिमा ९९४ जना घाइते भएका थिए। २ जना अझै बेपत्ता छन्। देशभर सो अवधिमा ३ हजार ४६३ विपद्का घटना भएका थिए। विपद्को कारण १ हजार १५ वटा चौपायाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
