मधेसमा पार्टी बलियो नभए कम्युनिस्ट आन्दोलन दुर्घटनामा पर्छ: प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेशमा पार्टी बलियो बनाउन नसकिए समग्र कम्युनिस्ट आन्दोलन नै ठुलो दुर्घटनामा पर्ने चेतावनी दिएका छन्। मधेसमा पार्टी निर्माणको विषयलाई आफूहरूले उच्च प्राथमिकतामा राखेको उनले सुनाए।

बुधबार जनकपुरमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण तथा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले मधेसमा पार्टी राम्रो बनेमा मात्र आगामी दिनमा समग्र कम्युनिस्ट आन्दोलनका लागि बलियो शक्ति निर्माण गर्न सकिने बताए।

‘मधेसमा राम्रो पार्टी बनाउन सकिएन भने त्यसले समग्र कम्युनिस्ट आन्दोलनलाई नै निकै ठुलो दुर्घटना बेहोर्नुपर्ने खतरा हामीले देखेका छौं, उनले भने, ‘त्यसैले अहिले पार्टीले मधेस प्रदेशमा पार्टी र आन्दोलन निर्माणको कुरालाई उच्च प्राथमिकतामा राखेको छ।

कार्यक्रममा कार्यविभाजन र जिम्मेवारी बाँडफाँडलाई लिएर नेता-कार्यकर्ताहरूमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्दै संयोजक दाहालले गल्ती कमजोरीहरू छिट्टै सच्याइने प्रतिबद्धता व्यक्त गरे।

बिहानैदेखि विभिन्न जिल्लाका अगुवा कार्यकर्ताहरूसँग गृहकार्य र अन्तरक्रिया गरिएको उल्लेख गर्दै उनले जिम्मेवारी दिँदा केही तलमाथि परेको स्वीकार गरे।

‘कयौं कुरा अझै मिलाउन बाँकी रहेको कुरा मैले, माधवकुमार नेपालजीले, नारायणकाजी श्रेष्ठलगायत नेतृत्वका कमरेडहरूले महसुस गरेका छौं,’ दाहालले भने, ‘जिम्मेवारी दिँदा तलमाथि परेको छ भन्ने साथीहरूको भनाइलाई आत्मसात् गर्दै निश्चित प्रक्रियाबाट कमरेडहरूका प्रश्न, गुनासो र असन्तुष्टिलाई सम्बोधन गरिनेछ।

उनले नेतृत्व टिमका तर्फबाट कार्यकर्ताहरूलाई धेरै चिन्तित नहुन आग्रह गर्दै उठाइएका विषयहरूलाई पुनर्विचार गरी करेक्सन गर्ने प्रतिबद्धता व्यक्त गरे।