धार्मिक–जातीय द्वन्द्वले मुलुकलाई गम्भीर संकटतर्फ धकेल्न सक्छ: संयोजक हरिकृष्ण गजुरेल
काठमाडौं। कम्युनिस्ट समाजवादी पार्टीका संयोजक हरिकृष्ण गजुरेलले धार्मिक तथा जातीय द्वन्द्वले मुलुकलाई भयावह र गम्भीर संकटतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।
हाल देखिएको अशान्तिपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै गजुरेलले धार्मिक तथा जातीय आधारमा समाज विभाजित हुने गतिविधि रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका हुन्।
उनले मुलुकमा बढ्दो असहिष्णुताले सामाजिक सद्भाव र राष्ट्रिय एकतामा नकारात्मक असर पार्ने उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा सबै नागरिक, राजनीतिक दल तथा सरोकारवाला पक्षले धैर्यता, संयमता र सहिष्णुता अपनाउनुपर्नेमा जोड दिएका छन्।
गजुरेलले आपसी सद्भाव, सामाजिक एकता र शान्ति कायम राख्न सबै पक्षसँग हार्दिक आग्रह गर्दै राज्य तथा सम्बन्धित निकायले पनि जिम्मेवार र जवाफदेही ढंगले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
संयोजक गजुरेलले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान निष्पक्ष,पारदर्शी गर्न र घटनामा संलग्न जोसुकै भए पनि कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।
उनले मुलुकमा शान्ति, सद्भाव र सहअस्तित्वको वातावरण कायम राख्न सबै पक्षले उत्तेजना होइन, संवाद र सहकार्यको बाटो रोज्नुपर्ने आवश्यकता औँल्याएका छन्।
