आईजीपी कार्कीको अपिल-अफवाह र उत्तेजक अभिव्यक्तिले कसैको हित गर्दैन,सद्भाव र संयमको बाटो रोजौँ

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पछिल्लो समय सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिरहेका अफवाह, उत्तेजक अभिव्यक्ति र द्वेषपूर्ण प्रचारप्रति चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई संयम र सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्।

नेपाल प्रहरीद्वारा जारी गरिएको भिडियो सन्देशमार्फत महानिरीक्षक कार्कीले नेपाल विविधतमा एकता बोकेको गौरवशाली र सुन्दर देश भएको स्मरण गराए।

धर्म, भाषा, जातजाति र संस्कृतिको भिन्नताका बाबजुद नेपाली समाज आपसी सम्मान, सहिष्णुता र भाइचाराका साथ युगौँदेखि एकसाथ बस्दै आएको उनले उल्लेख गरे।

विगत केही समययता विशेष गरी पूर्वी तराईलगायतका कतिपय स्थानहरूमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने र डर-त्रासको वातावरण सिर्जना गर्ने गतिविधिहरू देखिएको भन्दै महानिरीक्षक कार्कीले यस्ता कार्यप्रति दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा अफवाह फैलाउने,उत्तेजक भाषण वा अभिव्यक्ति दिने तथा कानुनको उल्लङ्घन गर्ने कार्यले कसैको पनि हित नगर्ने स्पष्ट पार्दै उनले भने,यस्ता गतिविधिहरूले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउँछन्। यो संवेदनशील समयमा अफवाह र घृणाको साटो विवेक, संयम र सद्भावको बाटो रोज्नु हामी सबैको साझा कर्तव्य हो।

नेपाल प्रहरीका तर्फबाट अपील गर्दै उनले शान्ति,सुरक्षा र सामाजिक सद्भाव कायम राख्न,राष्ट्रिय एकता र भाइचारालाई मजबुत बनाउनका लागि सहयोग गर्न सम्पूर्णमा आग्रह गरेका छन्।