कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले सुरुदेखि सुनुवाइ गर्ने ?
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादलाई फेरि सुरुदेखि सुनुवाइ गर्ने भएको छ। कांग्रेसका असन्तुष्ट समूहले यसअघिको फैसला पुनरावलोकन हुनुपर्ने माग राखी दिएको निवेदनमा निस्सा हुने आदेश गरेको हो।
प्रधानन्यायाधीश डा.मनोज शर्मा र न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले निस्सा हुने अनुमति दिएकाले कांग्रेस विवादबारे निर्णय भइसकेको फैसला सुरुदेखि सुनुवाइ हुनेछ।
यी न्यायाधीशबाहेक तीन जनाले गर्ने सुनुवाइमा यसअघिको फैसला सदर वा उल्टिने आदेश पनि हुनसक्छ। फैसला उल्टिएको खण्डमा कांग्रेसको असन्तुष्ट समूहले गरेको मागदाबी सहि ठहरिनेछ र विशेष महाधिवेशनले मान्यता पाउँदैन।
सोही फैसला सदर भएको खण्डमा विशेष महाधिवेशनले मान्यता पाउनेछ। यसअघि न्यायाधीशहरू न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिएको थियो।
देउवा पक्षको रिटलाई भने त्यतिबेला खारेज गरिदिएको थियो। यस आदेशलाई पुनरवलोकन गर्न भन्दै देउवाले गत साउन ७ गते उक्त निवेदन वारेसमार्फत पठाएका थिए।
