नेकपा बहुमतको राष्ट्रिय सम्मेलन असोजमा, अध्यक्षमण्डल प्रणाली लागू गर्ने

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आन्तरिक तयारी नपुगेको भन्दै साउनका लागि तय गरिएको राष्ट्रिय सम्मेलन स्थगित गर्दै आगामी असोज ५ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ।

पार्टी महासचिव कञ्चनको अध्यक्षतामा साउन १४ देखि १६ गतेसम्म पोखरामा सम्पन्न केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले सम्मेलनको नयाँ मिति तय गरेको हो। शुक्रबार पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू सार्वजनिक गर्दै पार्टीले वैज्ञानिक समाजवादी क्रान्तिप्रतिको प्रतिबद्धता दोहोर्याउँदै विचार, राजनीति र संगठनलाई नयाँ ढङ्गले अघि बढाउने जनाएको छ।

बैठकको सुरुमा जनयुद्ध, जनआन्दोलन तथा विभिन्न राजनीतिक सङ्घर्षमा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता योद्धाको स्मरण र घाइते तथा अपाङ्गता भएकाहरूप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

बैठकले हालसम्म कायम रहेको नेतृत्व प्रणालीमा फेरबदल गर्दै अबदेखि ‘अध्यक्षमण्डल प्रणाली’ लागू गर्ने निर्णय गरेको छ। सम्मेलनको तयारीस्वरूप साउन २९ देखि भदौ २६ गतेसम्म सबै ब्युरो समितिका बैठक तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ। त्यसैगरी, विभिन्न क्रान्तिकारी पार्टी, सङ्गठन तथा व्यक्तिहरूसँग एकता, ध्रुवीकरण एवं कार्यनीतिक र रणनीतिक मोर्चा बनाएर सहकार्य गर्ने नीति लिइएको छ।

वर्तमान सरकारका नीतिहरू सुकुम्बासी, किसान, मजदुर, वित्तीय शोषणपीडित, युवा-विद्यार्थी, सुशासन तथा राष्ट्रिय स्वाधीनताविरुद्ध रहेको निष्कर्ष निकाल्दै पार्टीले यस्ता जनविरोधी कदमका विरुद्ध राजनीतिक सङ्घर्ष चर्काउने निर्णय गरेको छ।

त्यस्तै, भू-राजनीतिक परिस्थितिको विश्लेषण गर्दै बैठकले वर्तमान विश्व व्यवस्थामा अमेरिकी साम्राज्यवाद नै विश्व शान्तिका लागि मुख्य बाधक रहेको निष्कर्ष निकालेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोको निमन्त्रणामा सम्पन्न अन्तर्राष्ट्रिय कार्यक्रमको प्रसङ्ग उल्लेख गर्दै पार्टीले मार्क्सवाद-लेनिनवाद-माओवादप्रतिको आफ्नो वैचारिक निष्ठा निरन्तर कायम रहने स्पष्ट पारेको छ।