एउटै ग्यास सिलिन्डरलाई ७ हजारमा बेच्ने किराना सञ्चालक पक्राउ
काठमाडौं। प्रतिसिलिन्डर सात हजार रुपैयाँका दरले खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरको चाँगुनारायणबाट एक किराना पसल सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नम्बर-२ दुवाकोट बारुदखाना चोकस्थित भाडामा बसी त्वयना किराना पसल सञ्चालन गर्दै आएका ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्।
उपभोक्ताहरूलाई अत्यधिक मूल्यमा ग्यास बिक्री भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अनुगमन गर्दा ३ थान ग्यास सिलिन्डरसहित सञ्चालक त्वयनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक कुमार कार्कीले जानकारी दिए।
कालोबजारीको आरोपमा नियन्त्रणमा लिइएका त्वयनामाथि थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।
