डाक्टर,नर्स कुटिएको पलाँता अस्पतालमा फेरि तोडफोड

काठमाडौं। शुक्रबार दिउँसो डाक्टर, नर्समाथि कुटपिट भएको कालिकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण भएको छ। राति सवा ९ बजेतिर स्थानीय तपेन्द्र बम अस्पताल प्रवेश गरी कर्मचारीमाथि आक्रमण गरेका हुन्।
बमले यसै अस्पतालका कार्यरत अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनलाई कुटपिट गरेका हुन्। बमले अस्पतालमा तोडफोड गरेका छन्।
पताँला गाउँपालिका वडा -९ थिर्पुमा रहेको पलाँता अस्पतालमा मेडिकल अफिसर डा-अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीमाथि दिउँसो आक्रमण भएको थियो। ओपिडीमा रहेको भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पंखा, अस्पतालका झ्याल लगायतमा तोडफोड गरेको डा-अलीले जानकारी दिए।
उनले फार्मेसी पूरै तोडफोड गरेका छन्। ढोका फोरेर फार्मेसीभित्र छिरी औषधि राखिएका दराज, र्याक पूरै लडाइदिएको सिसिटिभी भिडियोमा देखिन्छ।
पलाँता अस्पतालमा डाक्टर तथा नर्समाथि कुटपिट तथा दुर्व्यवहार भएको घटनापछि औषधि तथा स्वास्थ्य सामग्री रहेको स्थानमा समेत तोडफोड भएको छ।
कुटपिट र तोडफोडमा संलग्न पलाँता-९ थिर्पूकी ३२ वर्षीया मैना बम, स्थानीय तपेन्द्र बम, मैनाका पति सुशीलकुमार बम र उनका १३ वर्षीय छोरालाई प्रहरीले राति नियन्त्रणमा लिएको छ।
