बाँकेमा २५० सडक पूर्वाधार योजना कार्यान्वयनको तयारी
राँझा। सडक पूर्वाधार कार्यालय, बाँकेले चालु आर्थिक वर्ष २०८३/८४ मा जिल्लामा २५० वटा सडक पूर्वाधार योजना कार्यान्वयन गर्ने तयारी थालेको छ।
लुम्बिनी प्रदेश सरकारले बाँकेका लागि विनियोजन गरेका योजनाको कार्यान्वयन अघि बढाउन कार्यालयले जिल्लाका आठवटै स्थानीय तहमा स्थलगत रूपमा पुगेर लगत अनुमान तयार गर्ने काम सुरु गरेको छ।
सडक पूर्वाधार कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर शाहीका अनुसार प्राविधिक कर्मचारीलाई स्थानीय तहगत रूपमा जिम्मेवारी दिएर योजनाको प्रारम्भिक अध्ययन तथा लगत अनुमान तयार पार्ने काम भइरहेको छ।
योजना विवादरहित, गुणस्तरीय र समयमै सम्पन्न गर्न जनप्रतिनिधि तथा स्थानीय बासिन्दासँग समन्वय र सहकार्य गरेर काम अघि बढाइएको छ,उहाँले भन्नुभयो।
कार्यालयका निमित्त प्रमुख शाही, इन्जिनियर गोर्खबहादुर बुढा, अनिल चौधरीसहितको टोलीले प्रदेश सरकारबाट बाँकेमा विनियोजन भएका विभिन्न योजनाको स्थलगत अनुगमन गर्दै लगत अनुमान तयार पार्ने काम अघि बढाएको छ। अनुगमनका क्रममा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य र स्थानीय बासिन्दासँग आवश्यक समन्वय गरिने कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षमा सम्पन्न हुन नसकेका अधुरा आयोजनालाई समेत चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिएको छ। चालु आवमा प्रदेश सरकारले ग्रामीण सडक विकासलाई प्राथमिकतामा राखेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार केही दिनभित्रै अधिकांश योजनाको लगत अनुमान तयार गरी बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ। योजना कार्यान्वयनसँगै ग्रामीण क्षेत्रमा सडक पहुँच विस्तार, यातायात सहजता तथा स्थानीय पूर्वाधार विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

