वन्यजन्तुबाट मानव होइन,मानवबाट वन्यजन्तुचाँहि पीडित
रूषा थापा

तीन दशक अघिसम्म काठमाडौं पुरै वनजंगलले घेरिएको छ। थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी, काँडाघारी, पेप्सीकोला, बुद्धनगर, बबरमहल, बत्तिसपुतली एरियामा २०५०–५१ सालमा बाँदर लाग्थ्यो । दिँउसै बाँदर देखिन्थ्यो।
बुढानीलकण्ठको नारायणथान, कपन, थानकोट, गोदावरी, ललितपुरको भैंसेपाटी, थली, डाँचीमा बाघले मान्छे, घरपालुवा पशु खाएको खबर १०–१५ वर्ष अघिसम्म सार्वजनिक हुन्थ्यो । भक्तपुरको गुण्डु, शिवटोल, कटुञ्जे, राधेराधे, सिर्जनानगर, बालकोट, विरुवा, नलिञ्चोक एरियामा २०६७–६८ सालसम्म घरमै बाघ आउँथ्यो भन्नेहरु अहिलेपनि भेटिन्छन् ।बाघले बच्चा मारेको घटनाहरु पनि छ । २०५५ सालमा काठमाडौं उपत्यकामा खुला ठाउँ थियो । अहिलेजस्तो घना बस्ती बसिसकेको थिएन । बाघ, बाँदरलगायत जीवजन्तु जंगलमै बस्थे । त्यहाँ जे पाउँछ, त्यहाँ खान्थे । बस्तीमा खासै पस्दैनथें । वनजंगल मासिँदै गएपछि जीवजन्तु बस्तीमा छिर्न थालेका छन्।
बाँदर आतंकको विषयमा बारम्बार सदनमा आवाज उठिसकेको छ । सत्तापक्ष र विपक्षकै सांसदले यो कुरा उठाएका छन् । बाँदरले खेतीबाली सखाप पारिदिँदा कृषक मर्कामा परेका छन् । गाउँतिर अहिलेपनि स्याल, बँदेल, बाघ आतंक छ । दिँउसै घरमा आएर खसी, बोका, कुखुरा मारिदिन्छन् । भूमाफियाले खेतीयोग्य जमिन भटाभट प्लानिङ गर्दै बेचे। ७४ जिल्लाका नागरिकले काठमाडौंमा घर बनाएर छन् । घर बनाउन नसक्ने डेरामा बसेका छन् । यहाँको वनजंगल मासिएपछि बाँघ, बाँदर, बँदेल, स्याल लगायतका जीवजन्तु गाउँ पसेका छन् । बाँच्नका लागि ती जीवजन्तु गाउँ गएका हुन् । जसका कारण गाउँमा व्यापक बाँदरको संख्या बढेको छ।
गाउँमा मान्छेको भन्दा बाँदरको संख्या बढी छ । अनि बाँदरले आतंक मच्चाउँदैन ? गाउँ रित्तिदै गएको छ । अलिअलि बस्ती छ । तिनले खेतीपाती गरेको ठाउँमा बाँदर लागिहाल्छ । काठमाडौंको स्वयम्भुमा बाँदरले दुःख दिएको भन्दै नियन्त्रणका लागि वडाध्यक्षमार्फत महानगरपालिकामा ज्ञापनपत्र बुझाइएको छ ।जबकि, बाँदरको बस्ने स्थल नै स्वयम्भु हो । पहिले स्वयम्भुमा कति बाँदर हुन्थ्यो । बाँदरहरु त्यहीँ खान्थे, खेल्थे । मान्छेले तिनको बासस्थान खोसेका छन् । बाँदरको बासस्थान हो भन्ने थाहा हुँदाहुँदै मानव बस्ती बसाइयो । अनि जीवजन्तु कहाँ जाने रु तिनको चाँहि बाँच्ने अधिकार छैन ?
मानवका कारण जीवजन्तुलाई सबैलाई धेरै क्षति भएको छ। उनीहरुले आफ्नो बासस्थान छोड्नुपरेको छ । तर, मानव प्रजाति आफ्नो मात्र समस्या देख्छन्। बाँदरले दुःख दियो भन्नेले बाँदरलाई कति दुःख दिएका छौं भन्ने सोचेका छन् ? उनीहरुको घर नै जंगल थियो । जंगल मासेर बस्ती बसाइयो ।उनीहरुको जाने ठाउँ कहाँ छ ? गाउँ बस्यो, आतंक मच्चायो भनेर लखेट्छन् । शहरमा बस्ने स्थिति छैन । उनीहरुसँग मर्नेबाहेक कुनै विकल्प नै छैन । तर, सांसदहरुले यति सामान्य कुरा पनि बुझ्दैनन् । किन गाउँमा बाँदरको संख्या बढ्यो रु कसको कारणले बढ्यो रु बुझ्नुपर्यो नि।
अनि कराएर मात्र हुन्छ ? समाधान पनि खोज्नुपर्यो । गाउँ रित्तिदै गएको छ । गाउँका एकदमै राम्रो खेत रोपनीको हजारमा पनि बिक्री हुँदैन । यहाँ आनाकै ५० लाखदेखि २० करोडमा खरिदबिक्री भइरहेको छ । राज्यले बाँझो जग्गा सरकारले अतिक्रमण गर्ने निर्णय गरिदिने हो भने यहाँ भाडामा बसिरहेकाहरु फर्किन्छन् ।उनीहरुले आफ्नो जग्गामा खेतीबाली गर्छन् । एकातिर देश खाद्यान्नमा आत्मनिर्भर हुन्छ भने अर्कोतिर बाँदर नियन्त्रणमा आउँछ । सबैतिर खेतीपाती भएपछि बाँदरले अहिलेजस्तो आतंक नै मच्चाउँदैन । बाँदर आतंकको विषयमा धेरै हल्ला मच्चाउन आवश्यक छैन । सरकार योजनाविहिन भएर बाँदर आतंक सिर्जना भएको हो ।
गाउँ फर्किने अभियान चलाउनेबित्तिकै बाँदर नियन्त्रणमा आउँछ । पशुपतिनाथ, स्वयम्भु जाने पर्यटकहरु बाँदरले झोला खोसेको गुनासो पोख्छन् । भोक लाग्छ, बाँदरले के गरोस् । खान कसैले दिँदैन । चर्ने ठाउँ छैन । अनि कहाँ जाऊन् ती बाँदर ? बाँदरहरु पशुपति, स्वयम्भु, थापाथलीमा हजारौं वर्षदेखि बस्दै आएका छन् ।मानव प्रजातिले तिनको आवास खोसेका हुन् । बाँदरले त केही गरेका छैनन् । भूमाफियाको मिलीभगतमा पशुपति, स्वयम्भुको जग्गा कब्जा गरे । त्यहाँ घर बनेको छ । न बाँदरको खाने ठाउँ छ न खेल्ने । उनीहरुको जमिन त खोस्यो, अहिले अब नियन्त्रणको कुरा आयो । मारेर भएपनि नियन्त्रण गर्नुपर्ने कुरा उठेको छ ।
वास्तवमै मानव प्रजाति कति स्वार्थी छन् ? भन्ने उदाहरण हो यो । आफ्नो मात्र स्वार्थ हेर्छन् । अरुको पीडा देख्दैनन् । केही वर्षअघि नयाँ बानेश्वरमा बाघ घरभित्र छिर्यो । चिडिया खानाको टोलीले बल्लतल्ल बाघ निकाले । अहिलेपनि काठमाडौंमा घरभित्रै सर्प छिर्छ । जाने ठाउँ छैन, उनीहरु कहाँ जाऊन् रुतिनलाई पनि त मान्छेलाई केही गर्लान् भन्ने डर होला । तर, जानलाई वनजंगल छैन । जताततै घरैघर छ । मानव प्रजातिले प्रकृति र जीवजन्तुसँग कति अन्याय गरेका छन् ? भन्ने उदाहरण हो राधेराधे । त्यहाँ खोलाको जमिन मिचेर घर बनाइएको छ । त्यसैले हरेक वर्ष खोलाले बस्ती डुबाउँछ ।
बाँदरलाई बाँदर भन्नु बेकार छ किन कि मान्छेचाँहि बाँदर हो । केही देख्नै नहुने । खोलानाला, वनजंगल सबै मासेर सकाएका छन् । अनि हामीलाई बाँदरले दुःख दियो, खोला घरभित्र पस्यो भन्छन् । तिनलाई खोला मिचेर घर बनाऊ भनेर कसले भन्यो । जग्गा खानका लागि बनाएको होइन रुबाँदरको बासस्थानमा आफ्नो बासस्थान बसाऊ भनेर कसले भनेको थियो । अनि अहिले बाँदरले दुःख दियो भन्ने मिल्छ? भोट हाल्न मात्र गाऊँ जाने, अरु बेला जाँदै नजाने । चुनाव आउँदा राजनीतिक दलले गाडीका गाडी मतदाता लिएर जान्छन् । अनि फिर्ता ल्याउँछन् ।
गाउँ खाली छ भन्ने नेतालाई थाहा छ । तर, गाउँमा स्थापित गरौं भन्दैनन् । जीवजन्तुको पनि बाँच्ने अधिकार छ । कानुनले जीवजन्तु मार्न नपाउने व्यवस्था गरेको छ । त्यसका बाबजूद सांसदहरु सदनमा बाँदर मार्न पाउनुपर्ने कुरा उठाउँछन् । जीवजन्तु मान्छेसरह बोल्न नसक्लान् ।तर, उनीहरुमा पनि श्वास छ । तिनलाई मार्न मिल्छ ? उनीहरुले सरकारको के खाइदिएका छन् ?आफैंले खोजेर खाएका छन् । उनीहरु नै पीडित छन् । तैपनि उनीहरुलाई नै दोषी बनाइँदैछ । सदनमा उठाउन धेरै विषय छन्। मँहगी, कालोबजारी, सिण्डिकेट र छिमेकीले मिचेको भूभागको विषयमा सांसद सदनमा बोल्दैनन् ।
तर, बाँदरको कुराचाँहि जोडतोडले उठाउँछन्। कारण हो–भ्रष्टाचार। बाँदर नियन्त्रण भनेपछि सरकारले बजेट दिन्छ । त्यो बजेट लगेर भ्रष्टाचार जो गर्न पाइयो। राष्ट्रिय निकुञ्ज, वनजंगलको मूनि घर बनाउन पाइँदैन। तर, निकुञ्जकै जग्गा मिचेर घर बनाइएको छ ।जनावरहरु चर्ने ठाउँमा बस्ती बसेको छ । त्यसैले ती जीवजन्तु घनाबस्तीमा छिर्न बाध्य छन्।
