१४ किलो सुन तस्करी प्रकरण: ८ जनालाई थुनामा पठाउने आदेश

काठमाडौं। १४ किलो सुन तस्करी प्रकरणमा उच्च अदालत पाटनले सबै प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

बिहीबार उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो।

उच्चले जिल्ला अदालत काठमाडौँले यसअघि थुनामा पठाउने भनी गरेको आदेशलाई नै सदर गरेको हो। जिल्लाले थुनामा पठाउने आदेश गरेपछि उनीहरू उच्च अदालत गएका थिए। उच्चले पनि थुनामा पठाएपछि अब उनीहरू सर्वोच्चसम्म जान पाउने छन्।

उच्चले सुन तस्करीको अभियोगमा थुनामा रहेका लेकबहादुर तामाङ,रमेश देउला,अनिल श्रेष्ठ,राधाकृष्ण श्रेष्ठ,शेरबहादुर बस्नेत, कृष्णकुमार श्रेष्ठ, मीनबहादुर घले र जीवन गुरुङलाई थुनामा पठाएको हो।

यसअघि २०८० पुस २३ गते जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।