केन्द्र सरकारका कारण संघीयता धरापमा : मुख्यमन्त्री राउत


काठमाडौं कार्तिक ६। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केही उच्च पदस्थ कर्मचारी र परिवर्तन विरोधीका लागि संघीयता ‘अन वान्टेड बेबी’ बनेको बताएका छन् । बारा सदरमुकाम कलैयामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संघीयता विरोधीहरु अहिले पनि चलखेल गरिरहेको आरोप समेत लगाए।

‘कसैले चाहेर होस् वा नचाहेर होस जे जस्तो भएपनि बेबी त जन्सिक्यो,’उनले भने,‘बेबी जन्मिसकेपछि उसलाई बढीभन्दा बढी केयर गरेर बचाउनु पर्छ।’ उनले भने,’बेबीलाई माया चाहिन्छ। केयर चाहिन्छ। ममता चाहिन्छ। हुर्कनको लागि न्यूट्रिसन चाहिन्छ। त्यस्तै सुरुको फाउण्डेसन निर्माण गर्न संघीय सरकारको जुन किसिमको सहयोग चाहिन्छ। त्यो सहयोग संघीय सरकारबाट समयमा नपाइरहेको अवस्था छ। त्यसकारण विकास निर्माणको काम अघि बढाउन प्रदेश सरकारलाई समस्या भइरहेको छ। ‘

 

प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाएर अघि बढिरहे पनि संघीय सरकारको सपोर्ट पाउन नसकिएको मुख्यमन्त्री राउतले आरोप लगाए। स्वास्थ्य,शिक्षा,उद्योगधन्दा लगायत सञ्चालनको जिम्मा पनि प्रदेश सरकारकै काँधमा आएको उनले बताए। मुलुक कोर्समा अघि बढी सकेपछि त्यो कोर्सबाट अहिले पछि हटि सक्नुपर्ने अवस्था नरहेको उनले जिकिर गरे।

 

संविधानको धारालाई टेकेर नै प्रदेश सरकारले संघीय कानुनकै अधिनमा रहेर प्रदेश प्रहरी ऐन ल्याएको उनले जानकारी दिए। सिमांकनको विवाद,नागरिकतामा समस्या लगायतका बुँदा तत्कालै संशोधन मार्फत सच्याउनु पर्नेमा उनले जोड दिए।

 

संघीय सरकारका कारण संघीयता धरापमा पर्ने खतरा देखिएको जिकिर समेत उनले गरे। संघीयतालाई विफल पार्नका निमित्त प्रदेश सरकारका कतिपय कार्यहरुमा संघीय सरकारले अवरोध गरिरहेको आरोप समेत उनले लगाए।आजको कान्तिपुर दैनिकबाट ।