मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

काठमाडौं।दाङको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बिहीबार मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। दुर्घटनामा सल्यान घर भई शान्तिनगर-७ खैरेनी बस्दै आएका ७२ वर्षीय शमशेर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिए।

उनका अनुसार शान्तिनगर-७ खैरेनीस्थित प्रतिक्षालयमा पश्चिमबाट तुलसीपुर जाँदै गरेको रा ५ प ९३२२ मोटरसाइकलले थापालाई ठक्कर दिएको थियो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

यस्तै सोही दुर्घटनामा बबई-३ हंसपुरका ३० वर्षीय मोटरसाइकल चालक कमल विक र त्यसमा सवार २५ वर्षीय प्रकाश रसाइली घाइते भएका छन्।

थाका अनुसार रसाइली गम्भीर घाइते भएका छन्। उनलाई नेपालगञ्ज रिफर गरिएको छ।