बचतकर्ताको पीडाः दिनहुँ वित्तिय संस्था धाउने,आश्वासन लिएर फर्किने,पैसाचाँहि कहिले फिर्ता पाउने ?

सर्वसाधारण दैनिक आ–आफ्नो कामले बाहिर निस्किन्छन् । कुनै जागिर खान, कुनै आफ्नै व्यापार गर्न, कुनै बिरामी भेट्न त कुनै कहाँ । तर, अहिले यसको ठ्याक्कै उल्टो भएको छ । आफ्नो काममा जान छोडेर सहकारी, लघुवित्त र बैंकमा धाउँदै ठिक्क भएको छ,, सर्वसाधारणलाई ।

सरकारी होस् या निजी कर्मचारी, बहाना बनाएर कार्यालयबाट छुट्टी लिने अनि आफ्नो डुब्या पैसा पाइन्छ कि भनेर सहकारी र लघुवित्त धाउने । व्यापारीहरु सटर नै बन्द गरेर सहकारी र लघुवित्त धाइरहेका छन् । अधिकांश वृद्धवृद्धाले आफ्नो ज्येष्ठ नागरिक भत्ता सहकारी र लघुवित्तमा राखेका थिए ।

अहिले उनीहरुको पनि त्यही गएर दिनभरी कुर्ने ड्युटी लागेको छ । खाना खायो, वित्तिय संस्थाको कार्यालयमा पुगिहाल्यो । पहिलेपहिले सहकारी, लघुवित्त र फाइनेन्सका कर्मचारी घरघरमा पैसा लिन आउँथे । तर, अहिले विपरीत अवस्था छ । आफ्नो पैसा पाइन्छ कि भनेर सर्वसाधारणलाई कामधन्दा छोडेर वित्तिय संस्थाको पछि लाग्दै ठिक्क भएको छ ।
आफ्नै पैसाले दुःख दिएको अवस्था छ । एकातिर व्यापार व्यवसाय बन्द गरेर धाउनुपरेको छ भने अर्कोतिर भाडा पाकिरहेको छ । सटरको

भाडा तिर्नैपर्यो । अर्काको जागिर खानेलाई पनि कहाँ सुःख छ र । दिनहुँ छुट्टी माग्दा कामबाटै निकालिदिने हो कि भन्ने डर हुन्छ । अहिले धेरैको धन्दा वित्तिय संस्थाको कार्यालय धाउने भएको छ ।

तर, पैसा भने पाएका छैनन् । आजभोलि भन्दै झुल्याउने काम मात्रै भइरहेको छ । गाउँदेखि शहरसम्म सबैको उस्तै हालत छ । जताततै सहकारी, लघुवित्त र फाइनेन्सले डुबाएका पीडित छन् । फाइनेन्सहरु घाटामा गएका छन् । बैंकको अवस्था पनि पछिल्लो समय त्यस्तै छ ।

लघुवित्त र सहकारी त भागि नै सकेको छ । भएका छिटफुटले पनि पैसा फिर्ता दिन सकेका छैनन् । बढी ब्याजको प्रलोभन देखाएर बैंक तथा वित्तिय संस्थाले निक्षेप संकलन गर्यो । अहिले फिर्ता गर्नलाई दाँतबाट पसिना आइरहेको छ । वित्तिय संस्थाहरुले आफ्नो सम्पत्ति बेचेर बचत फिर्ता गर्ने आश्वासन दिइरहेका छन् ।

तर, आश्वासनले मात्र भएन् । उनीहरुको वर्षौसम्म घरजग्गा, शेयर, गाडी र सुन बिक्री नहोला । तबसम्म बचतकर्ता टुलुटुलु रमिता हेरिरहने ? घरजग्गा, शेयर र गाडीको कारोबारमा छपक्कै मन्दी आएको छ । यी क्षेत्रमा लगानी गर्ने मान्छे छैनन् । बढ्दै गरेको सुन पनि अहिले घटेको अवस्था छ ।

चार हजार कित्तामा सेयर खरिद गर्नेहरु आज चुलुम्मै भएको छ । बैंकले एक सयमा निकालेको सेयर न हो । गाडी खरिदबिक्री पनि सुस्ताएको छ । घरजग्गा कारोबार त ठप्प जस्तै छ । कसले किन्छ घरजग्गा ? आनाको लाख नपर्ने जग्गाको मूल्य दिनको दुई गुणा र रातको चार गुणाले बढाइयो ।

सुनमा लगानी गर्नेहरुको पनि त्यस्तै अवस्था आउन सक्ने अड्कलबाजी गर्न थालिएको छ । किन कि बजार सँधै माथि मात्र जाँदैन् । तर, यो कुरा नेपालीले बुझ्दैनन् । अहिले बजारमा घरजग्गा, शेयर र गाडी खरिद गर्ने कोही भेटिदैनन् । अझै पनि सहकारी, लघुवित्त र फाइनेन्सका सञ्चालकले हामी धितो बेचेर पैसा फिर्ता गर्छु भन्नु भ्रम छर्नु होइन् ?

उनीहरु बचतकर्तालाई अल्मलाइरहेका छन् । यता अल्मलाउने उता पैसा फिर्ता नदिने । बुढापाकाले भन्थे,‘पैसा हातले दियो, खुट्टालाई दुःख ।’ आफ्नै पैसाका लागि वित्तिय संस्थाको कार्यालय धाउँदाधाउँदै बचतकर्ताले दर्जनौं जुत्ता फटाइसके । यो क्रम दुई वर्षदेखि चलि नै रहेको छ ।

तर, पैसा फिर्ता आउने हो कि होइन् ? टुंगो छैन् । सहकारी क्षेत्र ध्वस्त भइसकेको कुरा कसैबाट लुकेको छैन् । अधिकांश सहकारी भागिसकेका छन् भने केही ‘घिटीघिटी’ को अवस्थामा बाँचिरहेका छन् । यता, बैंक पनि डुब्ने जोखिम बढेको छ । धितोको मूल्याङ्कनभन्दा बढीबढी कर्जा दिएकाले बैंकको लगानी पनि धरापमा छ ।

अधिकांश बैंकको खराब ऋण बढेको छ । बैंक तथा वित्तिय संस्थाले कहाँ कर्जा लगानी गरेको छ ? सरकारले मतलबै गरेन् । छुट दियो । जसको फाइदा तिनीहरुले उठाए । जता नाफा हुन्छ, त्यतै आँखा चिम्लेर लगानी गरे । जबकी त्यो बैंक तथा वित्तिय संस्थाको होइन्, आम सर्वसाधारणको बचत थियो ।

एक सयको सेयर रातारात चार हजार पुग्यो । भारतमा एक लाख नपर्ने गाडी यहाँ ३५ लाखमा दलालीले बेचे । घरजग्गाको त कुरा गरिसाध्य छैन्। व्यक्ति पनि घरजग्गा मै लगानी गर्ने, बैंक तथा वित्तिय संस्था पनि । अहिले सबै त्यसकै असर हो । रातारात तीन गुणा बढी नाफा कमाउन खोज्दा करोडौं बचतकर्ताको बिल्लीबाठ भएको छ ।

अहिले बैंकले कर्जा उठाउन सकेको छैन्। धितो भएर के गर्नु। किन्ने मान्छे हुनुपरेन्। धितो चपाउन मिलेन्। सरोकारवाला निकायले नियमन नगर्दा र रातारात नाफा कमाउन खोज्दाको परिणाम हो यो । यसले बैंक तथा वित्तिय संस्थामाथि आम सर्वसाधारणको विश्वास गुमेको छ।

बचतकर्ताले घरजग्गामा लगानी गर भनेर त आफ्नो पैसा राखेका थिएनन्। उत्पादनमूलक क्षेत्रमा लगानी गरेको भए सायदै आज यो दिन देख्नुपर्थ्यो। बचतकर्ता डुबाउनमा सरकार पनि उत्तिकै दोषी छ। बैंक तथा वित्तिय संस्थाले जता नचायो, त्यतै नाँच्दा आज यो अवस्था बन्यो।

सहकारीका बचतकर्ता त सडकमै आइपुगेका छन्। कतिपयको जीवनभरको कमाइ र सम्पत्ति बेचेर राखेको पैसा सहकारीले स्वाहा बनाइदिएको छ। लघुवित्तको हकमा पनि त्यही नै छ। अब बैंकले पनि बचतकर्तालाई सडकमा पुर्याउन बेर छैन् । आफ्नो पैसा डुबेको सहन नसकेर कतिपयले आत्महत्या गरे।

पीडा सहन नसक्दा कतिपयको हृदयघातबाट ज्यान गयो। कतिपय रोगी बने। सहकारी र लघुवित्तले यस्तो पीडा दियो कि बयान गरिसाध्य छैन्। आम सर्वसाधारणको आँखामा बैंक तथा वित्तिय संस्था ‘चोर र ठग’ हो। तर, सरकार सुनेर पनि सुनेझैं गर्छ। एक जनाको मात्र पीडा होइन् यो।

करोडौं बचतकर्ताको खर्बौं रुपैयाँ डुबेको छ। तर, सरकारलाई मतलब नै छैन्। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी बैंकमा कुनै समस्या नभएको बताउँछन्। त्यसो त दिनदिनै सञ्चारमाध्यममा छापिएका खबरहरु चाँहि के हो ? बैंक सर्वसाधारणको नजरबाट गिरिसकेको छ।

बैंक तथा वित्तिय संस्थामा यत्रो समस्या देखिसक्दासमेत अर्थमन्त्री वर्षमान पुन र सहकारीमन्त्री बलराम अधिकारी ‘चिल’ पारामा बसिरहेका छन्। बचतकर्ताको पीडा तिनले देखेकै छैनन्। बैंक तथा वित्तिय संस्थाका सञ्चालक बचतकर्ताको पैसा नदिने, घरमा लगेर लुकाउने।

कतिपयले विदेशी बैंकमा लगेर थुपारेका छन्। बचतकर्तालाई ‘छैन्’ भन्ने अनि लगेर लुकाउने। सरकार न पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन सक्छ न लुकाएको पैसा खोज्न सक्छ। बजारमा व्यापक आर्थिक मन्दी देखिएको छ। सरकार भने लगानी सम्मेलनको नौटंकी देखाएर बसिरहेको छ।

नेपालको अर्थतन्त्र संकटमा छ भन्ने कुरा विश्वलाई नै भइसकेको छ। यस्तो संकटमा परेको देशमा कसले लगानी गर्ने ? उद्योग व्यवसायी शेखर गोल्छाले केही समयदेखि मुलुकको अर्थतन्त्र सात दशक अघिकै अवस्थामा पुगेको बताएका थिए। २०८०–८१ को बजेटमा सरकारले लिएको करको लक्ष्य पनि पूरा हुन सकेन्।

४० प्रतिशत पनि कर उठेन्। जुनसुकै सम्मेलन गरेपनि देशको अवस्था त्यही हो। पहिले देशभित्र के भइरहेको छ ? त्यो हेर । व्यथैमा जनताले तिरेको कर सकाउने खेल भइरहेको छ। यस्तो नौटंकीले कतिञ्जेल देश चल्ला ?