स्वदेश फर्किए सन्दीप, भने– फ्रेन्चाइज लिग यात्रा अद्भुत रह्यो

काठमाडौं, फागुन २८ । सन्दीप लामिछानेले आफ्नो फ्रेन्चाइज लिग यात्रा अद्भुत भएको बताएका छन् । पाकिस्तान सुपर लिग खेलेर मंगलबार स्वेदश फर्किएका सन्दीप केही दिनमै इण्डियन प्रिमियर लिग खेल्न भारत जानेछन् ।

 

बिगब्यास लिग बीचमै छाडेर बंगलादेश गएका उनी यूएईविरुद्ध सिरिज खेल्न नेपाली टोलीमा आवद्ध भए । यूएईबाट सिधै अष्ट्रेलिया गएका सन्दीपले मेलबर्न स्टार्सका बाँकी खेल खेले । उनको टिम फाइनलसम्म पुग्यो तर, उपाधि जित्न भने चुक्यो । त्यसपछि सन्दीप लाहोर कालन्दरबाट पाकिस्तान सुपर लिग खेले ।

 

९ खेलमा ११ विकेट लिएका उनको व्यक्तिगत प्रदर्शन राम्रै रह्यो तर, टिम लिगको पुछारमा रह्यो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षित कुरा गर्दै सन्दीपले आफ्नो फ्रेन्चाइज लिग यात्रा अद्भुत भएको बताए । उनले भने, कहिले काँही तलमाथि हुन्छ तर, समग्रमा यात्रा अमेजिङ रह्यो ।’

 

विभिन्न लिगमा स्टार खेलाडीहरुको नेतृत्वमा खेल्न पाउँदा आफूले धेरै कुरा सिक्न पाएको बताए । उनले भने, ‘यो सबै नेपाल क्रिकेटलाई नै मदत गर्छ ।’

तीन वर्ष अगाडि नेपालको राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेका सन्दीप नेपालका एक मात्र भाग्यशाली खेलाडी हुन् जसले भारत, पाकिस्तान, अस्ट्रेलिया, क्यानडा, हङकङ, युएई र वेस्ट इन्डिजको क्लबबाट टी–२० फ्रेन्चाइज लिग खेलेका छन् । उनी टी–२० लिगमा नेपालका ग्लोबल आइकन नै हुन् ।