प्रहरीको हिरासतमै हत्याका अभियुक्त भेटिएपछि

बझाङ, फागुन ३० । मंगलबार राति जिल्ला प्रहरी कार्यालय बझाङको हटलाइनमा रिङ बज्यो । फोन गर्ने व्यक्तिले प्रहरीलाई कोही एकजना व्यक्तिले सदरमुकामको पसलमा होहल्ला गर्दै हिँडिरहेको जानकारी गराए । जानकारीपछि ती व्यक्तिलाई पछ्याउँदै गएको प्रहरीले नजिकैको बाहुलीगाढ पुलमा भेट्यो ।

 

प्रहरीलाई देख्नासाथ ती व्यक्ति पुलछेउबाटै फरालेर भाग्न खोजे । प्रहरीले राति १२ बजेतिर ती व्यक्तिलाई नियन्त्रणमा लियो । पक्राउ पर्ने व्यक्ति थिए सुर्मा गाउँपालिका–१ दौलीचौरका २५ वर्षीय दर्पण बोहरा ।

 

जाँड रक्सी खाएर मातिएका बोहरालाई रातभरी प्रहरीले हिरासतमै राख्यो । बुधबार बिहानै सदरमुकामकै चौगाउँटोलमा एकजना युवकको शव भेटियो । बीच सडकमा रक्ताम्मे अवस्थामा भेटिएको शव पनि सुर्मा १ दौलीचौरकै ३५ वर्षका धर्कबहादुर बोहराको थियो ।

 

सदरमुकाममा हत्या भएको घटनाले एका–एक सदरमुकाममा सन्त्रास फैलियो । जिल्लाको शान्ति सुरक्षाप्रति प्रश्न उठाउँदै पीडितका आफन्त र सदरमुकामबासीन्दा जिल्ला प्रशासन कार्यालयको गेटमा नाराबाजी गर्न थाले ।

 

हत्याको घटनाले चैनपुर एकाएक अशान्त र त्रसित बन्यो । प्रहरीले तत्काल अनुसन्धान गरी हत्यारा पत्ता लगाउने प्रयास थाल्यो । चैनपुरमा घटनास्थलको सर्जिमिन मुचुल्का हुँदै गर्दा डीएसपी प्रविण धिताल हत्या पछि हुन सक्ने सम्भावित विरोध, सदरमुकामको सुरक्षा र सम्भावित अपराधिको बारेमा छलफल गर्दै थिए ।

 

उनको शंका एकाएक राति जाँड रक्सी खाएर होहल्ला गर्दै हिँडेका बोहरामा गयो । डीएसपी धितालले भने–‘हामी १० बजेतिर बोहरालाई छोड्ने तयारीमा थियौँ । कतै उसैले घटना गरेको हो कि भन्ने शंका लागेर सोधपुछ गर्यौँ । उसका लुगामा रगतका टाटा पनि देखिएका थिए । हत्याको बारेमा सोधपुछ गर्ने्बित्तिकै उ आत्तियो र केहीबेरमै हत्या स्वीकार गर्यो ।’

 

यसरी घटना सार्वजनिक हुनु पुर्व नै अपराधि हिरासतमा पुगेको थियो । यो घटनाले प्रहरी नै अचम्ममा परेका थिए । घटना सार्वजनिक भएको २ घण्टा भित्रै अभियुक्त पक्राउ परेको खबर आएपछि जिल्ला प्रशासन कार्यालयमा भइरहेको तनाबसमेत साम्य भयो । प्रहरीलाई तल्काल हत्यारा पत्ता लगाउन चुनौती भैरहेको बेला अभियुक्त प्रहरी हिरासत मै भेटिए ।

 

हत्या स्वीकार गरेका दर्पणले यार्साको रकम लेनदेनको विषयमा विवाद भएपछि ढुङ्गाले हानेर हत्या गरेको स्वीकार गरसकेको डीएसपी धितालले जानकारी दिए । उनीहरु दुबैजनाले मंगलबार दिउँसोदेखि नै जाँड रक्सी खाएर मातिएका थिए । मातिएकै बेलामा रकम लेनदेनको कुरा उठेको र दर्पणले यार्साको रकम माग्न थालेपछि धर्क त्यहाँबाट भागेको र उसलाई लखेट्दै गएर ढुङ्गाले हानेपछि ढलेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको डीएसपी धितालले बताए ।

 

‘जाँड रक्सी खाएर मातेर भाग्नै नसक्ने अवस्था भएका कारण पनि ढुङ्गाले हानेर हत्या गर्न सजिलो भएको देखिएको छ’ डीएसपी धितालले भने। हत्या स्वीकार गरेका दर्पणमाथि थप अनुसन्धान भैरहेको र छिटै आवश्यक प्रमाणसहित अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।