प्रदेश दुईमा चैत २१ गतेसम्म सम्पूर्ण एसईई परीक्षा स्थगित

काठमाण्डौ चैत १५ – शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले परीक्षाअगावै प्रश्नपत्र बाहिरिनु निकै नै दुखद भएको र त्यसले गर्दा विद्यार्थीमाथि पर्न गएको असरलाई सरकारले गम्भीरताका साथ हेरेको बताउनु भएको छ ।

 

शिक्षा मन्त्रालयमा शुक्रबार साँझ भएको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले लाखौँ विद्यार्थीको भविष्यमाथि नै खेलबाड गर्ने आपराधिक काम भएकाले उनीहरुमाथि कडा कारबाही गरिने प्रतिबद्धता जनाउनु भएको छ ।

 

श्रृङ्खलाबद्ध रुपमा प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर दुईमा चैत २१ गतेसम्म सञ्चालित हुने सम्पूर्ण विषयका परीक्षाहरु स्थगित गरिएको पनि मन्त्री पोखरेलले बताउनुभयो । स्थगित विषयका अर्को परीक्षा तालिका यही महिनाभित्र प्रकाशित गरिने पनि उहाँले बताउनुभयो ।

 

२०७५ सालको चैत २२ गतेका लागि पुनः तय भएको विज्ञान विषयको परीक्षा तालिका भने यथावत नै रहेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।प्रदेश दुईमा विज्ञान, सामाजिक शिक्षा विषयका प्रश्नपत्र बाहिरिएको थियो । यसले गर्दा पनि प्रदेश दुईमा सम्पूर्ण विषयकै प्रश्नपत्र बाहिरिएको आशंका गरिएको थियो ।

 

 

मन्त्री पोखरेलले अन्य प्रदेशको हकमा भने परीक्षा नियमित ढंगले संचालन हुने उल्लेख गर्दै ढुक्क भएर सहभागी हुन पनि सबै परीक्षार्थीहरुलाई आह्वान गर्नु भएको छ ।उहाँले प्रश्नपत्र बाहिर्‍याउने काममा सहभागी भएकाहरुको अनुसन्धान गरी दोषीउपर कडा कारबाही गर्ने चेतावनी पनि दिनुभयो ।

 

घटनाको छानबिनका लागि शिक्षा मन्त्रालय आफैले छानबिन समिति गठन गरेको छ भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि घटनाको अनुसन्धानको कामलाई अघि बढाएको छ ।

प्रदेश दुईमा २६२ परीक्षा केन्द्र मा ७० हजार ५ सय ६२ परीक्षार्थी सहभागी छन् ।