श्रीलङ्कामा शृङ्खलाबद्ध विस्फोटन,२०७ जनाको मृत्यु

कोलम्बो, बैशाख ९। श्रीलङ्कामा आइतबार भएका श्रीङ्खलावद्ध आक्रमणका कारण २०७ जनाको निधन भएपछि यहाँको सरकारले देशभरका आइतबार साँझदेखि लागु हुनेगरी १२ घण्टाका लागि निशेधाज्ञा जारी गरेको छ ।

 

विस्फोटका कारण देशभर आतङ्क फैलिएपछि श्रीलङ्काको मन्त्री परिषद् बैठक बसेको र अवाञ्छित थप घटना हुने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय समयअनुसार आइतबार साँझ छ बजेदेखि सोमबार बिहान छ बजेसम्म निशेधाज्ञा (कफ्र्यु) आदेश जारी गरिएको सरकारले जनाएको छ ।

 

आइतबार भएका आक्रमणमा करिब ३० जना विदेशी नागरिकसहित २०७ जनाको मृत्यु भएको र ४५० व्यक्ति घाइते भएका प्रहरी प्रवक्ता रूवान गुनशेकराले पुष्टि गर्नुभयो । उहाँले दिनभर देशका विभिन्न आठ स्थानमा शक्तिशाली विस्फोट भएका बताउनुभयो ।

 

प्रहरीका अनुसार छ वटा विष्फोटका घटना आइतबार विहानै भएका थिए भने दुईवटा विष्फोट दिउसोको समयमा भएका थिए ।रासस÷सिन्ह्वा