ओली सरकार फासिवादी दमनमा उत्रियो:‘प्रचण्डबाबु‘ किन चुप अमेरिकाले एमसीसी आईपिएसको अंग भनेपछि :अध्यक्ष गजुरेल

काठमाडौं,पाैष १४। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा,नेपालले सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष गजुरेलले हिजो (आइतबार)सीमा अतिक्रमणबारे नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने क्रममा आफूहरुलाई गिरफ्तार गरेर ओली सरकार फासिवादी दमनमा उत्रिएको भन्दै गजुरेलले पत्ति जनाएका छन् ।

 

हामी सरकारलाई जानकारी गराएर नै ज्ञापनपत्र बुझाउन सिंहदरबार गएका थियौं । तर, प्रहरी ज्यादती भयो । हाम्रा साथीहरुमाथि अन्धाधुन्ध लाठी चार्ज भयो । हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन चाहेका थियौं, तर उहाँ पूर्णतयः बेड रेष्टमा भएको खबर उहाँको सचिवालयबाट आएपछि हामीले पनि रक्षामन्त्रीलाई नै ज्ञापनपत्र बुझाउने भनेर समय लिएरनै गएका थियौं ।

 

उनले हिजो घटेको घटना प्रायोजित भएको दावी गर्दै रक्षामन्त्री र गृहमन्त्रीले बोलाएर गिरफ्तार गराएको आरोप लगाए । अध्यक्ष गजुरेलले नेपालको भूमी लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेर भारतले नयाँ नक्शा निकालेपछि आफूहरुले भारतको सो कदमको विरोध गर्दै आएको दावी गर्दै भने,‘भारतले आफ्नो नयाँ नक्शामा नेपाली भूमी राखेपछि अहिले नेपालमा पार्टीहरु, विभिन्न संघ, संस्था, बौद्धिक व्यक्तिहरु, ख्याँतिप्राप्त कलाकारहरुले पनि विरोध गरेका छन् । हामी पनि विरोधमा उत्रिएका थियौं । पछिल्लो समय यो शिथिल भएको थियो । हामीले फेरि यो विषयलाई उठायौं । सरकारले कतै यो विषयलाई दबाएर लैजान चाहेको थियो होला हामीलाई त हिजोको सरकारी कदमबाट यो आशंका पैदा भएको छ ।

 

हिजोको घटनालाई लिएर सामाजिक सञ्जालमा पनि विराेध भएकाे उनले सुनाएका छन् । गजुरेलले भने, ‘हिजोको कदमले मुलुकमा ध्रुवीकरण पैदा गरेको छ । यो गम्भिर खतराको कुरा हो । देशको सीमा मिचिएको विषयमा कुरा उठाउँदा हामीलाई देशभक्त भनिएको छ । अनि देशभक्तहरुमाथि नै किन दमन गरियो हामीमाथि नै लाठी चार्ज भयो ।

 

राष्ट्रिय स्वाधिनताको पक्षमा नारा लगाउँदा आफूहरुको ब्यानर समेत च्यातिएको नेता गजुरेलले भने,‘राष्ट्रिय स्वाधीनताको पक्षमा बोल्दा हाम्रा ब्यानर च्यातिए । हामीले त सरकारसँग सहकार्य गरेर जान चाहेका थियौं । तर, हामीले नचाहँदा नचाहँदै देशमा ध्रुवीकरण हुन लाग्यो ।’ भारतले नेपाली भूमी मिचेर आफ्नो नक्शा जारी गर्दा नेपालले भने आफ्नो नक्शा पनि जारी गर्न नसकेको उनको आरोप छ । उनले भने, ‘सरकारले आफूले गर्नुपर्ने काम पनि गरेन ।’ उनले नेपालको संविधानलाई विश्वकै सर्वोत्कृष्ट भनेर चर्चा गरिएको सुनाउँदै देशको संविधानमा निशान छाप नै भारतीय नक्शाको डुप्लिकेट रहेको टिप्पणी गरे । उनले भने, ‘लिम्पियाधुराको चुच्चो नै गायब छ । यो त हद भयो ।

 

अध्यक्ष गजुरेलले मुलुकमा यतिवेला महँगी, भ्रष्टाचार, दमन, अत्याचार विद्यमान हुँदाहुँदै पनि सबै कुरा सहेर सरकारलाई पनि साथमै लिएर राष्ट्रिय स्वाधिनताको पक्षमा आवाज उठाएको बताए । उनले भने, ‘हामी त नक्शा बनाउन सक्छौं । तर, के गर्नु हामीले बनाएको नक्शा बैध हुँदैन सरकारले जारी गर्दा पो बैध हुन्छ ।

 

उनले नेपालको सीमा मिचिएको विषयमा नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले आफ्नो तहमा वार्ता गर्नुपर्ने बताए । उनले भने,‘प्रधानमन्त्रीको लेभलमा किन वार्ता भएन मोदी र ओलीबीच वार्ता हुनको लागि के ले रोक्छ किन लापरवाही हिजो जनकपुरमा मोदीजी आउँदा राजस्थानी लुगा लगाएर भेट्न गएको होईन उनले आफूहरुले मोदीलाई भेटेर नहुने भन्दै सरकारले यो काम गर्नुपर्ने सुझाव दिए । उनले सरकारको क्रियाकलाप हेर्दा सरकार फाँसिवादतर्फ जान लागेको टिप्पणी गरे । उनले भने,‘हिजो हामीलाई पक्राउ गरिएपछि पक्राउ परेका हाम्रा महासचिव परी थापाजीले रक्षामन्त्रीलाई फोन गर्नुभयो, किन यस्तो प्रहरी ज्यादती भनेर सोध्दा उहाँले तपाईहरुलाई अब सरकार फाँसिस्ट भयो भन्न सजिलो भयो भनेर भन्नुभयो ।

 

उनले आफूहरुको लागि राष्ट्रियताको मुद्दा नै प्रधान भएको सुनाए । उनले भने,‘हाम्रो लागि देश ठूलो कुरा हो । राष्ट्रिय स्वाधिनताको रक्षा हाम्रो पार्टीको पहिलो उद्देश्य हो । कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो भनेर भन्न पाईँदैन यसो भन्दा हामीले के अपराध गर्यौं माईतीघर मण्डलामा पुसको जाडोमा सर्लाहीका उखु किसानहरु आन्दोलित भएको सुनाउँदै उनले वर्तमान सरकारलाई त्यो सुन्ने धैयर्ता नभएको जिकिर गरे ।

 

एमसीसीबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आईपिएसको अंग भए नस्विकार्ने भनेर सार्वजनिक रुपमै बोलेको अवस्थामा अमेरिकाले एमसीसी आईपिएसको अंग भएको बताएपछि अहिले प्रचण्ड चुप भएको बताए । उनले भने, ‘प्रचण्डबाबु किन चुप भए अमेरिकाले एमसीसी आईपिएसको अंग भनेपछि उहाँको बोली नै बन्द भयो ।’ नेपाले अमेरिकाको सामरिक रणनीतिमा सामेल हुँदा नेपालको असंलग्नताको नीति भत्किने पनि उनको टिप्पणी छ ।

 

उनले नेपाल अमेरिकी फौजी रणनीतिमा सामेल भए नेपाललाई केही पनि फाईदा नहुने जिकिर गरे । उनले भने, ‘अहिले देश संकटको घडीमा छ । हामी त्यही भएर सडक संघर्षमा उत्रिएका हौं ।’ उनले राष्ट्र बचाउने अभियानमा नेपालको मिडियाबाट जति सहयोग हुनुपर्ने अपेक्षा थियो त्यति नपाएको उनको गुनासो छ ।

 

उनले आफूहरुले राष्ट्र जोगाउने आन्दोलन सुरु गरिसकेको पनि बताए । उनले भने,‘गणतान्त्रिक अधिकार प्राप्त गर्नको लागि हामीले आन्दोलन सुरु गरिसकेका छौं । यसमा हामीलाई सहयोग गर्नुहोस् । नेपाललाई विदेशीको रणभूमी हुनबाट जोगाउनुपर्छ । हामी सबै एकजुट भएर लाग्यौं भने कालापानीबाट भारतीय सेना हटाउन सक्छौं ।’ उनले देश बचाउने आन्दोलन गर्दा हिजोको घटना दोहोर्याए वर्तमान सरकारको खैरियत नभएको चेतावनी दिए । उनले भने,‘हिजोको घट्ना दोहोर्याए यो सरकारको खैरियत छैन् ।’

 

कार्यक्रममा मोर्चाका महासचिव परी थापा, कार्यालय सदस्य पवनमान श्रेष्ठ, सचिवालय सदस्य दिपक शाही, बसन्त बोगटी, हरिकृष्ण गजुरेल लगायतका नेताहरुको सहभागिता रहेको थियो । पत्रकार सम्मेलन सकिएलगत्तै नेताहरु रत्नपार्कमा भएको विरोध प्रदर्शनमा सहभागि भएका थिए । विरोध प्रदर्शनलाई अध्यक्ष गजरेल, महासचिव परि थापाले सम्बोधन गरेका थिए भने सञ्चालन कार्यालय सदस्य पवनमान श्रेष्ठले गरेका थिए । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं. प्रदेशको आयोजनमा शान्तिबाटिकाबाट सुरु भएको विरोध ¥याली पुरानो बानेश्वर, भृकुटीमण्डप, शान्तिबाटिका, सुन्धरा, नेपाल एअरलाइन्स, वीरअस्पताल हुँदै शान्तिबाटिकामा पुगेर विरोध सभामा परिणत भएको थियो ।