७२ दिनमा ११३३ जनाको कोरोना परीक्षण

काठमाडौं, चैत २० । ७२ दिनको अवधिमा १ हजार १ सय ३३ जनाको कोरोना भाइरस(कोभिड–१९) नमुना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जसमध्ये विदेशबाट आएका पाँच जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले संक्रमित पाँचमध्ये एक जना निको भएर घर फर्किसकेको र चार जनाको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको बताए ।

 

२० जनवरीबाट नेपालमा कोरोना परीक्षण सुरु भएको थियो । चीनको वुहानबाट नेपाल आएका एक नेपाली युवामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलोपटक कोरोना भाइरस ९कोभिड–१९० परीक्षण गरिएको थियो ।

 

पछिल्लो २४ घण्टामा ७३ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। देवकोटाका अनुसार देशभर ९९ जना आइसोलेसनमा उपचाररत छन् । संक्रमणको पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेकाहरुको पनि नमुना संकलन हुँदै आएको छ ।

 

सरकारले कोरोना संक्रमितको उपचारका लागि मुलुकभर ८५ वटा अस्पताल निर्धारण गरेको छ । केन्द्र र प्रदेश स्तरका सबै अस्पताल र ६० वटा जिल्ला अस्पतालमा उपचारको व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रदेश १ मा मेची र उदयपुर अस्पताल, प्रदेश २ मा बारा र जनकपुर अस्पताल, बाग्मती प्रदेशमा भक्तपुर र सिन्धुली अस्पताल, गण्डकी प्रदेशमा धौलागिरी र गोरखा अस्पताल तोकिएको छ ।

 

यस्तै, प्रदेश ५ मा लुम्बिनी र तम्घास अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत र दैलेख अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेती र महाकाली अस्पताल तोकिएको मन्त्रालयले जनाएको छ ।

 

केन्द्र्रमा रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, नेपाल सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पताललाई सरकारले यसअघि नै विशेष अस्पतालका रुपमा छुट्याएको छ ।

 

हाल पोखरा र धरानबाट नमुना परीक्षण सुरु भएको छ । हेटौंडा, सुर्खेत, धनगढी, जनकपुरबाट पनि आज (बिहीबार)बाट परीक्षण सुरु हुने चरणमा छ । हालसम्म ६ हजार कल स्वास्थ्य मन्त्रालयको कलसेन्टरमा आएका छन् ।राजधानी दैनिकमा खबर छ।