सात नम्बर प्रदेशको नामाकरण मानस प्रदेश राख्नुमा ऐतिहासिक्ता छ

– डा. पदमराज कलौनी
नेपालको संविधान (२०७२) ले प्रतिस्पर्धात्मक बहुदलिय लोकतान्त्रिक शासन प्रणालीमा प्रवेश गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेश स्वतन्त्रता, न्यायिक न्यायपालिका लगायत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल्य र मान्यतालाई आत्मसात गर्दै समाजवादप्रति प्रतिबद्धता रहेको प्रण गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको परिकल्पनासँगै नेपाल राष्ट्रलाई सातवटा प्रदेशिकरण गरेको छ । नेपाललाई संघ, प्रदेश र स्थानीय तहमा राज्यको संरचना बिभाजन गरेर राज्यशक्तिको बाँडफाँड गरिएको छ । बाजुरा, बझाङ्ग, अछाम, डोटी, कैलाली, दार्चुला, डडेल्धुरा, बैतडी र कन्चनपुरको भूगोललाई समेटेर बनाईएको सात नम्बर प्रदेशको नामाकरण गर्न के कस्ता आधारहरु हुने र सामथ्र्य र पहिचान के हुने ? भन्ने विभिन्न चर्चा परिचर्चा चलाउने उद्देश्यले आलेखलाई केन्द्रीत गरिएको छ । नामाकरणका लागि केही नामहरु सार्वजनिक भएका छन् । सार्वजनिक भएका नामले समग्र नौ वटै जिल्लाको भूगोल (हिमाल देखि तराई) को नेतृत्व गर्न सक्दैन भन्ने आशय पनि हो । सामथ्र्य र पहिचानलाई प्रमुख आधार बनाएर गरिने सीमाङ्कन र नामाङ्कन नेपालको सन्दर्भमा सजिलो देखिदैन । पहिचानका प्रसस्त आधार भएर पनि सामथ्र्यमा टेक्ने र सामथ्र्यका आधारलाई छोडेर पहिचानमा टेक्ने राजनीतिक दलहरुको ढुलमुले र स्वार्थी निर्णयले सिमाङ्कनलाई विवादमा तानेको तथ्य हाम्रा सामु जीवन्त छ । संविधान सभाले नामाङ्कन कार्य थाँती राखिनुले पनि यो समस्या झन बल्झिने तर्फ संकेत गरिरहेको छ । संविधान सभाद्वारा भै’गरेको सीमाङ्कनप्रति सबैतिर खुशीको अवसर देखिएन । मदेशवादी दलहरुको असन्तुष्टीको कारणले भारतले अघोषित नाकाबन्दी लगाएको अवस्था छ । आयोग वा संघीय प्रदेशले गर्ने नामाङ्कन सहज विषय होइन । पहिचान र सामथ्र्यका आधारमा संघीयताको सीमाङ्कन र नामाङ्कन गरिएको भए सायद बिरोधको स्वर मत्थर हुने सम्भावना थियो । भावी राजनीतिमा आफ्नो भूगोलमा कसरी टिकीरहने भन्ने नेताहरुको कुटील चालकै कारणले संविधान सभाको पवित्रता माथि  सीमाङ्कनले ठूलो चुनौती थपेको छ । संविधान घोषणासँगै संशोधनको प्रस्ताव घोषणा गर्ने पक्षबाट आउँनु झन संकटलाई दिशानिर्देस गराएको छ । केही प्रभावशाली भनिएका नेताको हैकम तथा स्वार्थका कारणले गरिएको भनिएको सीमाङ्कनको नियती नामाङ्कनले नब्यहोरोस् भन्नेतर्फ सोचेर आगामी दिनमा सामथ्र्य र पहिचानका आधार खोज्न कसैले कन्जुस्याइँ गर्नुहुँदैन । सत्य र तथ्यगत तथा ऐतिहासिक प्रमाणलाई सबैलाई मान्य हुन्छन नै ! यसै सिलसिलामा सात नम्बर प्रदेशको नामाङ्कन “मानस प्रदेश” हुनुपर्दछ भन्ने आधार प्रस्तुत गर्दै बहसका लागि आलेखलाई केन्द्रीत गरेको छु । हरेक प्रदेशको नामाङ्कन गरिदा ऐतिहासिक, भौगोलिक, साँस्कृतिक, आर्थिक आदि तथ्यहरुलाई प्रमाणिक रुपमा हेरियोस् भन्ने आग्रह पनि हो । सात नम्बर प्रदेशलाई “मानस प्रदेश” किन राख्ने ? भन्ने सन्दर्भलाई ऐतिहासिक रुपमा हेर्दा स्कन्द पुराणमा हिमालयलाई “खण्डास्य पञ्च हिमालस्य कथितास्य नैपाल कूमाँचंलौ । केदारोकथ जालन्धरोकथ रुचिर काश्मीर संज्ञोकन्तिमस्य ।” उल्लेख गर्दै हिमालयलाई पाँच भौगोलिक खण्डमा बिभाजन गरिएको छ ।  अर्थात हिमालयको नामाकरण नेपाल, कुर्माञ्चल, केदारखण्ड (गढवाल), जालन्धर (हिमाञ्चल प्रदेश) र सुरम्य काश्मीर भनेर वर्णन गरिएको छ । पौराणिक ग्रन्थहरुमा कुर्माञ्चल भनेर मानसखण्डलाई भनिएको छ । विश्वको आदि ग्रन्थको रुपमा प्रशिद्ध ऋग्वेदमा मेरुमानसको शुक्ष्म रुपले वर्ण गरिएको छ । मानसखण्डकै भागलाई वेदले हिमवतमेरु भनेर स्विकार गरेको छ । मानसखण्डको इतिहास हेर्दा पौराणीककाल देखि नै पाईन्छ । केदारखण्ड (वर्तमान गढवाल) मानसखण्ड वर्तमान भारतको कुमाऊँ र उत्तराखण्ड राज्य तथा नेपालको महाकाली, सेती र कर्णाली नदीसम्मको भूभागलाई मानसखण्डको रुपमा स्विकार गरिएको पाईन्छ । वेदमा आर्याब्रतको उत्तरी भूभाग कैलास मानसरोवरसम्मको सम्पूर्ण भूखण्डलाई मानसखण्डको रुपमा व्याख्या विश्लेषण गरिएको छ ।
स्कन्दपुराण मानसखण्डको (२०÷२१) नन्दपर्वतमारम्भ यावत् काकगिरिः समौ । तावद्वै मानसखण्ड ख्यायेत् नृपसत्तम । अर्थात कुमाऊ (भारत)को नन्द पर्वत देखिन् लिएर काकगिरि (कर्णाली) सम्मको सम्पूर्ण हिमाल, पहाड र तराईको भू–भागलाई मानसखण्डको रुपमा लिइएको छ । यसमा मानसखण्डको भौगोलिक सीमाङ्कन, नक्साङ्कन र भू–भागको वर्णन गरेको हुँदा यो भन्दा ठूलो प्रमाण, गौरव र शानको विषय के नै हुनसक्छ । उत्तर र दक्षिणले थिचि–मिची लिएको भूगोलको समेत भावी पुस्तालाई ज्ञात गराइरहने छ । स्कन्दपुराण केदारखण्ड (२०४÷५६–५७) मा मानसखण्डको महिमा र गरिमाको वर्णन– तीथानि प्रवराष्यैव श्वेताख्ये पर्वतोत्तमे । अग्रे मानस प्रस्तावे तथा नेपालकेमुनि ।। काश्मिरे चैव प्रस्तावे जालन्ध्रे वै तथा मुनिः तथा केदारप्रस्तावे कथितानि मयाद्यते । अर्थात सेताम्य पर्वत (कैलास) सबैभन्दा उत्तम पर्वत हो । यसको अगाडि अवस्थित रहेको उत्तमक्षेत्र मानसखण्ड हो । त्यसपछि क्रमसः नेपाल, काश्मिर, जालन्धर र केदार खण्ड पर्दछन् ।
भागवत पुराणको १÷१२÷३–४मा उल्लेख भए अनुसार– दृष्वा पापयसीं सृष्टिं नात्मानं बह्वमन्यत् । भगवत्ध्यानपूतेन मनसान्यौ ततोऽसृजत ।। सनकं च सनन्दं च सनातनमथात्मभू । सनत्मकुमारं च मुनीन्निष्कियानूर्व्नरेतंस ।। अर्थात तामिश्र, अन्धतामिश्र आदिलाई सृष्टि गरेर वाक्क भएका ब्रह्माले सनक, सनन्द, सनातन, सनत् कुमारको सृष्टि गरेको क्षेत्र नै मानस हो भनेर उल्लेख गरेको पाइन्छ ।  यसै गरि भविक्ष्य पुराणमा ब्रह्माजीले देवताहरुको सहयोगका लागि देवसेना (कात्यानी) नामक मानसी पुत्रीलाई जन्माएको क्षेत्र मानखण्ड भएको वर्णन गरिएको छ ।
बाल्मीकी रामायणमा ब्रह्माजीले कैलास पर्वतको नजिकै मानस क्षेत्रको निर्माण गरेको उल्लेख पाइन्छ । साथै कैलास मानसरोवरबाट मूल भएर बग्ने नदीहरुमा काली (महाकाली), कर्णाली नदीहरु पुण्यभूमी मानस क्षेत्रबाट नै बग्ने हुन भनेर स्कन्द पुराण मानस खण्डको २०÷१४ मा उल्लेख गरिएको छ । (यस्माद्वि सुमहापुण्या सरित सम्भवाकिल । यनेदं मानसं नाम खण्डं तत् समुदाहतम् ।।)
अम्बिका भगवतीले मेरुपर्वतको नजिक मानस गिरिमा तपस्या गरेको कुराको पुष्टि देवी भागवत्को १÷४÷२२ ले पुष्टि गर्दछ । विचार्य मनसात्यर्थ कृत्वा मानसि निश्चयम् । जगाय च तपस्तप्तुं मेरुपर्वत सुन्निधौ ।।) स्कन्द पुराण मानस खण्डको ८÷८३ मा मानसखण्डको उल्लेख गर्दै त्यहाँ विभिन्न पंक्षीहरु र जल–जन्तु पाइने वर्णन छ । परापुर्वकालमा मेरु अर्थात कैलास पर्वतको सहोदरको रुपमा चिनिएको मानस क्षेत्रमा मानिसका अलावा देवी देवता, यक्ष, किन्नर, परी, गन्धर्व, ऋषि, मुनि, पिशाच, राक्षसहरुको समेत तपस्थली अथवा बासस्थान मानिन्छ । दारुगिरि (दार्चुला) मा आएर वेदब्यासले वेदलाई पूर्णता दिएको हुनाले उक्त स्थानलाई व्यास भनिन्छ ।
दुर्गा सप्तशतीको ५÷७ मा मानसक्षेत्र अन्तर्गत पर्ने कैलास मानसरोवरमा अम्बिकाकोे प्रार्थना गर्न सम्पूर्ण देवताहरु जाने गरेको थियो भन्ने छ । हिन्दूहरु मानसरोवरलाई पवित्र तिर्थस्थलको रुपमा मान्दै आएका छन् । (इति कृत्वा मतिं देवा हिमवन्तं नगेश्वम् । जग्मुस्तत्र ततो देवीं बिष्णु माया प्रतुष्टुबु ।।) देवी भागवत्को १÷४÷१५ मा गौराले शिवलाई पतिको रुपमा पाउँन मेरु पर्वतको निकट मानस क्षेत्रमा तपस्या गरेको वर्णन छ । कठोर तपस्या गरेकै कारणले गौराको सम्झनामा सेती महाकालीका अधिकांस भागमा आज पनि “गौरा पर्व” लाई महान पर्वको रुपमा मनाईन्छ ।
महाभारत, वनपर्वमा धर्मराज युधिष्ठरले मानस क्षेत्रका तीर्थस्थल गएर स्नान गरेको कुरा पनि उल्लेख गरेको छ । (ततो तद्धेत राजेन्द्र मानसं तीर्थमुत्तमम् । तत्रस्नात्वा नरोराजन् रुद्रलोके महीयते ।।)
बालक ध्रुव राजा भएपछि मानसखण्डमा गएर रुद्रको दर्शन गरेको कुरा भागवत् पुराण ४÷१०÷५ मा छ भने ३÷१३÷४० मा ऋषि कर्दमले मानसक्षेत्रको भ्रमण गरेको उल्लेख छ । अद्भुत रामायण (२६÷४०÷४१) मा सीताले लङ्काबाट अयोध्या फर्कने क्रममा रामसँग गरेको सम्बादमा पनि मानस क्षेत्रको उल्लेख गरेको पाईन्छ । भागवत् पुराण (१÷१२÷७) मा भृकृटीका बालक रुद्रले रुद्राणीसँग कैलास (मेरु) पर्वतमा तपस्या गरेको वर्णन छ । हरिवंश पुराण, नृसिङ्ग पुराण, ब्रह्म बैवर्त पुराण, एकादशी महात्म आदिमा कैलासवासी शंकरको पुजाआजा गर्न मानसपुष्पको प्रयोग भएको उल्लेख पाईन्छ । बिष्णु पुराणका अनुसार मानवको उत्पत्तिस्थल काश्मिर, जालन्धर, केदारखण्ड भन्दा पहिले मानसखण्डमा भएको थियो र धर्तीका प्रथम मानव मनु शतरुपा मानसखण्डका मानिन्छन् । मानस नामक जातीका सन्तानहरुमा मृग, मगध, मानदग मानिएका छन् । यिनीहरुको भाषा मानसी थियो ।
वेदमा के छ ?  पुस्तकमा– मानसं सिद्ध सेवितम्  भनेर मानस क्षेत्रको महिमा लेखिएको छ । वायू पुराण (५०÷८८) मा मानसको दक्षिणी भागमा मनुको बासस्थान रहेको कुरा स्विकार गरिएको छ ।
मेघदूतमा कालिदासले मानस खण्डका आदिबासी यक्ष (खस) जातीलाई उल्लेख गरेका छन् । मानसखण्ड वा मानस प्रदेशलाई अथर्ववेदमा (५÷४÷८) उदङ् , बौद्ध ग्रन्थमा अनो–ताता, तिब्बती धर्मग्रन्थमा कङ्गरी करछक, जैन धर्ममा (कैलासलाई) अष्टापद, मानसरोवरलाई पद्यहृद वा पद्यक्षेत्र आदि उल्लेख गरेका पाईन्छ ।
कैलालीस्थित घोडाघोडीतालका सम्बन्धमा पनि एउटा किम्बदन्ती प्रचलित छ । जसअनुसार सूर्यकी पत्नी संज्ञाले आफ्ना पतिको राप–तापलाई सहन गर्न नसकेर उनी घोडी (अस्विनी) को रुपधारण गरेर मानस क्षेत्र अन्तर्गत कैलालीमा आएकी थिईन् । संज्ञा विश्वकर्मा ऋषीकी छोरी थिइन । संज्ञा मानस प्रदेशमा आाउँदा छोरा मनु (जसले मानसको दक्षिण क्षेत्रमा शासन गरेको कुरा वायू पुराणमा छ) र जुम्ल्याहा यमुना एवं यमराजलाई छोडेर आएकी थिइन । सूर्यकी कान्छि श्रीमती छाँया ल्याइते थिइन । छाँयाबाट शनी र तपती सन्तान जन्मेका थिए ।  छाँयाले आफु र आफ्ना सन्तानलाई  राजकीय सुविधाबाट वञ्चित गराएको हुनाले मनु, यमुना र यमराजलाई दुस्ख दिने, पिट्ने गरेको हुँदा सूर्य घरायसी कारणले बिरक्तिएर संज्ञालाई खोज्न हिँडे । संज्ञाले घोडी (अश्विनी) को रुपधारण गरेको थाहा पाएपछि उनले पनि घोडा (अश्व) को रुपधारण गरी कैलालीको घोडाघोडी तालमा संज्ञालाई भेटेको हुनाले तालको नामाकरण घोडाघाडी ताल गरिएको अनुमान गरिन्छ । घोडाघोडीमा अश्विनी र कुमार नाम गरेका जुम्ल्याहा सन्तानको जन्म भएकोले थारुजातीले सूर्य र संज्ञाको सम्झना तथा प्रतिकका रुपमा घोडा घोडीलाई इष्टकूल देवताको रुपमा पुजाआजा गर्ने परम्परा रहेको छ । स्वर्गबाट सुर्य र संज्ञा घोडा(घोडीको अवतार भई घोडा घोडी तालमा आउने जनविश्वास गरिन्छ ।
कैलाली र कन्चनपुरमा थारु जाती दाङ जिल्लाबाट बसाई सरेर आएकोले “डङौराण” भनिएको हो भन्ने मान्यता पाइन्छ । तर यसभन्दा पनि बढी प्रमाणिक कुरो भारतको कूर्माञ्चलका कत्युरी तथा चन्दराजाहरु (ईसापूर्व २५०० देखि सन् ७०० सम्मको शासनकाल) हिउँदमा घाम ताप्न र जङ्गलि जनावरको शिकार खेल्न तराईमा झर्ने गर्दथे । प्रचण्ड गर्मी र तराईमा मानिसको बसोबास नभएका कारणले बर्खामा आफ्नो शासनाधिकार भएको भएको राज्यमा फर्कन्थे । हिउँदमा तातोको खोजीमा तराई झर्दा वर्षातमा उम्रेको घाँस, पात तथा बाढीले पुरिएर पैदल बटो हराउँथ्यो । बाटोको निशान देखिदैन्थ्यो । राजाको आगमन हुने समय सम्म राजाका सैनिकले बाटो खोल्न तथा सफागराउँन डङराहरुलाई उर्दी जारी गर्दथे । सधैँजसो डङराहरुले नै बाटो सफा गर्नुपर्ने बाध्यताले उनीहरु बाटो सफा हुने गरेर गाईवस्तु चराउने र घासपात गर्ने गर्दथे । घरपालुवा जनावरलाई “डंगर” र गोठालोलाई “डङरा” भनिथ्यो । डङरा शब्द अपभ्रंश हुँदै डङौरा भएको हो । भारतको टनकपुर,  पिलिभित देखि रुद्रपुर आदि तराईक्षेत्रमा चन्द राजाको शासन कायम थियो । कैलाली र कञ्चनपुरका प्रायःजसो डङौराहरु यहीँ क्षेत्रबाट आएका हुन् । त्यसैकारणले थारु जातीलाई तराईका अब्बल बासिन्दा मानिन्छन् । त्यसताका जग्गा–जमिन तथा बसोबास गर्ने स्थानलाई “थात” भनिन्थ्यो । चन्दशासन कालमा जग्गाको मालिकलाई “थातवान”  भन्दथे । “थात–थलो” भन्नाले खेतीपाती गर्ने जग्गा जमिन समेतलाई बुझिने भएकोले थातमा कामकाज गर्ने किसानलाई “थारु” भनिएको हो भन्ने कथन छ । तत्कालिन समाजमा “थारु”  भनेको खेती किसानी गर्ने किसानलाई भनिन्थ्यो ।
मानसखण्डलाई देवभूमिको रुपमा लिईन्छ । यस क्षेत्रमा असंख्य हिन्दू तिर्थस्थल छन् । पौरव, कुशान, गुप्त, कत्युरी, रायक, पाल, चन्द, परमार, गोरखा र अंग्रेजले यहाँ शासन गरेको पाईन्छ । पौराणिक ग्रन्थहरुका अनुसार उत्तरी हिमालमा सिद्ध गन्धर्व, यक्ष, किन्नर जातीको सृष्टी थियो र उनीहरुका राजा कुवेर थिए भनेर भनिएको छ । कुवेरको राजधानी अलकापुरी (बद्रीनाथ भन्दा माथि) बताइएको छ । कुबेरको राज्यमा ऋषिमुनि तप र साधना गर्दथे । यस क्षेत्रमा हुण, नाग, खस जातीले निवास गरेको थियो । पौराणिक ग्रन्थहरुमा केदार खण्ड, मानस खण्ड, देवभूमि, तपोभूमि आदिको नामले प्रशिद्ध रहेको थियो । चन्द राजाहरुको पालादेखि मानसखण्डलाई कुर्माञ्चल वा कुमाऊँ नामाकरण गरिएको थियो । चन्द राजाहरुले कत्युरी शासनपछी राज्य गरेका थिए । चन्द राजाको शासन सन् १७९० सम्म पाईन्छ र सन् १७९० मा नेपाली (गोर्खाली) सेनाले कुमाऊँमा आक्रमण गरेर आफ्नो अधीनस्थ ल्याएको थियो । सन् १८१५ मा अंग्रेजसँगको युद्धमा परास्त हुँदा गोर्खालीले कुमाऊँ गुमाउनु परेको थियो । अंग्रेजले त्यसपछी केदारखण्डलाई विभिन्न गढ (किल्ला) मा विभक्त गर्दै आफ्ना विश्वासपात्र समर्थकलाई गढको राजकाज सुम्पदै गए । पवार वंशका राजाले एकीकृत गढवाल राज्यको स्थापना गरेर श्रीनगरमा राजधानी स्थापना बनाए पछी केदारखण्डलाई गढवालको नामले प्रचलित हुन थालेको इतिहास पाइन्छ । स्कन्दपुराणमा मानसखण्डका विभिन्न स्थानको नामाकरण गरिएको पाइन्छ । जस्तै, दारुगिरि भनेर हालको दार्चुला, लिपिपर्वत भनेको लिपुलेक, चर्मवति भनेको चौलानी (चमेलिया), बायुतड (बैतडी), श्यामा वा काली वा वैयसिका (महाकाली), देवतट (डोटी), सीता नदी (सेती नदी), दिल्पेश्वर (दिपायल), चन्दनगिरि (शिलगढी), खेचराद्रि (खप्तड), आश्रम (अछाम, बज्राङ्क (बझाङ्ग), बाजिरा वा बाजु (बाजुरा), बृद्धगंगा (बुढीगङ्गा), शितलोदका (चिसापानी), ब्रह्मपुर (ब्रह्मदेव), कुर्म पर्वत (डडेलधुरा), काञ्चन नगर (कञ्चनपुर), मुद्गल (मुगु), हुम्ओम (हुम्ला), युगला (जुम्ला), कालिका (कालिकोट), दोहावलि भनेर डोल्पालाई भनिएको पाइन्छ । उपरोक्त ऐतिहासिक प्रमाणका अतिरिक्त सेती र महाकालीको हिमाल देखि तराईसम्मको भूभागलाई प्रतिनिधित्व गर्ने ऐतिहासिक तथ्यलाई प्रमाणिक रुपमा खोजी गरेर नामाङ्कनका लागि राजनीतिक रुपमा बहसका दृष्टिकोणले सार्वजनिक गरियोस् भन्ने उद्देश्यले आलेखलाई सार्वजनिक गरिएको छ । नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक र विविधता बोक्ने देश भएकोले आपसी सदभाव, एकता र सहिष्णुतालाई नयाँ परिवेशमा वर्ग, क्षेत्र र लैङ्गिक समानता, समृद्धि तर्फ उन्मुख गराई सामाजिक न्याय प्रदान गर्नमा राजनीतिज्ञ, बुद्धिजिवी, साहित्यकार, सर्वसाधारण तथा विभिन्न तप्कामा रहेका पेशाकर्मीको दायित्व समेत भएकोले प्रत्येक नागरिकको सत्प्रयासले मात्र दिगो शान्ति, सुशासन र समृद्धिको आधारस्तम्भ बसाल्न सकिन्छ ।