अहिलेको सरकारलाई अदालतले संवैधानिक ठहर्याउनै सक्दैन: ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतबाटै गराउनुपर्ने बताएका छन्।
शनिवार काठमाडौंमा आयोजित विशाल जनप्रदर्शनको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यो सरकार संविधानले कुनै पनि कोणबाट वैध ठहर्याउन सक्ने अवस्था छैन । यस्तो असंवैधानिक सरकारको अन्तिम परीक्षण सम्मानित सर्वोच्च अदालतबाटै हुनै पर्छ । अदालतमा यो मुद्दा लिएर जाने जिम्मेवारी नेकपा एमालेले लिनेछ।
उनले वर्तमान सरकारलाई हिंसा, आगजनी र तोडफोडको बलमा बनेको तथा लोकतान्त्रिक प्रक्रियालाई कुल्चिएर असंवैधानिक ढङ्गले सत्ता कब्जा गरिएको आरोप लगाए।
ओलीले नेकपा एमाले देशको स्वाभिमान, शान्ति, सुशासन र लोकतन्त्रको रक्षाका लागि स्थापित पार्टी भएको स्मरण गराउँदै भने, ‘यो देशमा नेकपा एमाले छ भन्ने कुरा सबैले राम्ररी बुझ्नुपर्छ। कसैले जतिसुकै अलोकतान्त्रिक र असंवैधानिक ढङ्गले एक छिन सरकार कब्जा गरे पनि एमालेले जनताको बलमा लोकतन्त्रलाई पुनर्स्थापित गरेर छाड्छ।
उनले भने, ‘मिचिएको संविधानलाई फेरि नमिचिने बनाएरै छाड्छौँ । अराजकताको यो शासन लामो समय टिक्दैन। नेकपा एमाले जनताको साथ लिएर छिट्टै सुशासन र शान्ति स्थापना गर्नेछ ।
एमालेले देशलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न र जनतालाई सहज सेवा-सुविधा उपलब्ध गराउन सदैव अग्रणी भूमिका खेल्दै आएको ओलीको दाबी छ।
