मधुमेह र योग विज्ञान

डा.राजु अधिकारी

पिएचडी, मानव चेतना एवं योग विज्ञान

अधुरो सरकारी तथ्यांकले नदेखाए तापनि नेपाल भविष्यमा मधुमेहको विश्व राजधानी बन्ने खतराको निकै नजिक छ । आज जुन गतिले मधुमेह बढ्दो छ, व्यावहारिक दृष्टिले चीन र भारतभन्दा हामी एक कदम अगाडि छौं । हामी मधुमेहबाट पीडित शीर्षस्थ दुई मुलुकको बीचमा छौं । दुवैतिरको जीवनशैली, संस्कृति, खानपान र औषधोपचार पद्धतिले हामीलाई असर नगर्ने कुरै हुँदैन । त्यस्तै, त्यहाँ फैलिने रोग बिरामीहरु यता नभित्रने सम्भावना पनि कमै हुन्छ ।

 

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वका ८० प्रतिशत मधुमेही हामीजस्तो गरिब र मध्यमवर्गका देशमा बस्छन् । हाम्रो जस्तै जीवनशैली बाँच्ने र सामान्य तथा न्युन आय भएका व्यक्ति यसको आक्रमणबाट बढी मात्रामा सिकार हुने गर्दछन् । अन्तर्राष्ट्रिय मधुमेह महासंघका अध्यक्ष प्रोफेसर क्लाउडे एमबन्याको भनाइअनुसार “आज हाम्रो सामुन्ने मधुमेहको जुन तथ्यांक उपलब्ध छ, मधुमेह अब नियन्त्रणबाहिरको महामारी बनिसकेको छ । यो सार्वजनिक शत्रुसँग लड्ने जीवनशक्ति र प्रतीरक्षा क्षमता आज कुनै पनि देशसँग छैन ।

 

हुन पनि हो, आजको दिनमा मधुमेहकै कारण विश्वभरि बर्सेनि पन्ध्र लाख मानिसको ज्यान जाने गर्दछ । तपाईं हामी हरेकले मनन गर्नुपर्ने तथ्य के हो भने प्राथमिक पूर्वाधार र गाँसबासकै समस्यासँग लड्नुपर्ने र न्युन स्वास्थ्य चेतना भएको हाम्रो समाज मधुमेहजस्तो रोगको निकै उर्वर भूमि हो ।

 

मधुमेहलाई सामान्य किसिमको रोग मानिए तापनि यसको कष्ट र तनाव नरकतुल्य हुन्छ । जबकि जीवनशैलीमा सामान्य सुधारमात्रै ल्याउने हो भने यो रुघाखोकीजस्तै साधारण उपचारबाटै नियन्त्रित हुन्छ । जति बढी तनाव, जति अस्तव्यस्त जीवनशैली र खानपानको जति बढी अज्ञानता यो रोग त्यति फस्टाउँछ। यस्तो स्थितिमा योग विज्ञान मधुमेह व्यवस्थापनको निविर्कल्प र साइडइफेक्टरहित उपाय हो । मधुमेह रोग र यसको व्यवस्थापनमा योग विज्ञानको भूमिकामाथि आज संसारभरि थरीथरीका वैज्ञानिक अनुसन्धान भइरहेका छन् ।

 

भिन्न–भिन्न ढंग र पद्धतिबाट गरिएका सबैजसो अनुसन्धानको सारतत्वलाई केलाएर हर्ने हो भने निष्कर्षमा यसो भन्न सकिन्छ, “योग विज्ञानमा आधारित यौगिक जीवनशैली, यौगिक खानपान। यौगिक क्रियाहरुद्वारा मधुमेह नामक रोगमाथि सजिलोसँग नियन्त्रण प्राप्त गर्न सकिन्छ । त्यतिमात्र होइन, योगसम्बन्धी जीवनशैली भएका व्यक्तिहरु भविष्यमा मधुमेहको आक्रमणबाट सजिलै बच्न सक्दछन् अर्थात् मधुमेह भएकाहरु योगद्वारा जति बढी लाभान्वित हुन्छन् त्यो भन्दा बढी भविष्यमा मधुमेहका उम्मेदवारहरु लाभान्वित हुन्छन् ।

 

 

मधुमेहका दुई प्रकार छन् । हाम्रोजस्तो विपन्न समाजमा टाइप–२ मधुमेह बढी मात्रामा हुने गर्दछ । टाइप–१ को तुलनामा यो मधुमेह नियन्त्रणका दृष्टिले सजिलो हुन्छ । टाइप–१ मधुमेहमा सधैंभरि इन्सुलिन प्रयोग गर्नुबाहेक अर्काे विकल्प हुँदैन । किनकि यसमा शरीरभित्र इन्सुलिन उत्पादन गर्ने क्षमता हुँदैन । टाइप–२ मधुमेहमा भने अनेकौं उपचार विधि काम गर्न सक्छन् । व्यायाम, खानपान नियन्त्रण, प्रसन्न रहने अभ्यास, आयुर्वेदिक जडिबुटी सेवन, एलोपेथी औषधि आदि । यी विविध उपचार पद्धतिसँगै यदि योग विज्ञानलाई पनि अवलम्बन गर्ने हो भने यो रोग स्थायी रुपमा नियन्त्रित हुन सक्छ ।

योग विज्ञानको प्रभावः

योग उच्चस्तरीय जीवनशैली कला हो । जिन्दगी जिउने विज्ञान हो । मधुमेहलाई विशेषज्ञहरु एक प्रकारको जीवनशैली विकृत मान्दछन् । एकथरी चिकित्सकहरु मधुमेहबाट पूर्णरुपमा मुक्ति पाउने हो भने अनिवार्य रुपले जीवनशैली सु–व्यवस्थित बनाउनु पर्ने सल्लाह दिन्छन् । अस्तव्यस्त र दौडधूपको जीवनशैलीलाई उचित क्रमबद्धतामा ल्याउन सिकाउने कला केवल योग विद्या हो । अहिलेसम्म ११ प्रतिशत क्यानाडेली, ७ प्रतिशत अमेरिकी र लगभग ४ प्रतिशत भारतीय योग गर्दछन् । नेपालमा भने पुग–नपुग एक प्रतिशतमात्रै आफ्नो दिनचर्यामा योगलाई स्थान दिने गर्दछन् ।

यौगिक व्यायाम र मधुमेहः

आधुनिक अध्ययनहरुका अनुसार योगासन तथा प्राणायाम गर्ने व्यक्ति यदि रोगी तथा विकारग्रस्त भयो भने उसको शरीर सामान्य अवस्थामा आउने कोसिस गर्दछ । योगासन तथा प्राणायामद्वारा शरीरको प्रतिरोधात्मक क्षमतामा जादुमय वृद्धि हुन्छ, रक्त शुद्ध हुन्छ, आन्तरिक अंग अवयवहरु कार्य सक्षम हुन्छन् र शरीरका विकारहरु स्वभाविक रुपले बाहिर निस्किरहेका हुन्छन् । विभिन्न योगासनद्वारा यस्तो क्षमता उत्पन्न हुनेबित्तिकै मधुमेहजस्तो बिराम न्युनीकरण हुन थाल्छ । केही मिनेटको वैज्ञानिक योगासनले शरीरका सबै जोड्नी, नशानाडी, मांसपेशी, अंग अवययको समानान्तर करसत हुन्छ ।

वैज्ञानिक रीतिले कुशलतापूर्वक गरिएको ३० मिनेटको प्राणायामले शरीरभरि दौडिने रगतको शुद्धीकरण गर्छ । हर्माेन उत्पन्न गर्ने ग्रन्थिहरु सशक्त हुन्छन्, पाचन–अवशोषण र मल निष्काशन क्रिया सुचारु हुन्छ, मानसिक तनाव घट्छ, समग्र जीवनशक्तिको बढोत्तरी हुन्छ । यी उपलब्धिको प्रभाव भनेकै मधुमेहजस्ता रोेग समाप्त भएर जानु हो ।

मधुमेह व्यवस्थापनमा सहयोगी मुख्य आसनहरु सूर्यनमस्कार, प्रज्ञायोग, पश्चिमउत्तानासन, अर्धमत्स्येन्द्रासन, वक्रासन, जानुनमन आसन, मूनमन आसन, हनुमानासन, मार्जारी आसन, गोमुखासन, मयुरासन, हलासन, बकासन आदि हुन् ।

 

त्यस्तै हठयोगमा वर्णित अग्निसार, वमन, नौभिजस्ता अभ्यास पनि निकै लाभकारी हुन्छन् । यदि मधुमेहसँगै उच्चरक्तचाप, मुटुजन्य रोग, मृगौला रोगजस्ता समस्या पनि छन् भने विशेषज्ञका परामर्शअनुसार मात्रै अभ्यासहरु गर्नुपर्दछ ।

योगको प्रभाव रोगको जडसम्मः

आधुनिक एलोपेथिक दबाइले मधुमेहको लक्षण दबाउने काम गर्छ । रगतमा इन्सुलिनको स्तर सन्तुलित राख्न औषधि, इन्जेक्सन तथा अन्य विधिको प्रयोग गर्दछ । योभन्दा गहिराइमा पुगेर योगले मधुमेहको जडलाई नै उन्मुलन गर्ने भूमिका खेल्छ । योग चिकित्सा प्रणालीको मान्यताअनुसार अधिकांश आधुनिक रोगको मुख्यस्वरुप मनोकायिक हुन्छन् । मनोकायिक भन्नाले सुरुमा मनको तनावका कारण उब्जन्छन् र क्रमशः शरीरमा रोग बनेर देखा पर्दछ ।

योग विशेषज्ञहरुको मतानुसार ध्यान, प्राणायाम, धारणा, प्रत्याहार, संयम, स्वाध्यायजस्ता प्रभावकारी योगविधिद्वारा मनको तनाव प्रबन्ध गर्ने हो भने त्यसका कारण उत्पन्न भएको मधुमेहजस्ता रोग ठिक हुन्छन् । त्यसकारण जतिसुकै व्यस्त भए पनि मानिसलाई स्वस्थ राख्न भूमिका खेल्ने योगको अभ्यास मधुमेहीले अनिवार्य रुपमा गर्नु पर्दछ ।

यौगिक खानपानः

मधुमेहग्रसित व्यक्तिले अपनाउनुपर्ने अनिवार्य नियम आहार अनुशासन हो, जसको पूर्ण वैज्ञानिक र व्यवहारिक शिक्षण योगपद्धतिले मात्रै सिकाउँछ । योग ग्रन्थहरुमा भनिएको छ –थोरै खाए बल, धेरै खाए मल । भोक लागेपछि मात्रै खाऊ, विपरीत प्रकृतिका खानेकुरा एकसाथ नखाऊ । बेलुका सत्नुभन्दा २–३ घन्टाअगाडि खाइसक्नु । बिहान शुद्ध पानी पिउने गर अर्थात् उषापान गर । पेटले पकाउनुपर्ने भन्दा सूर्यकै चुलामा पाकेका ताजा खाद्यवस्तु अधिक मात्रामा खाऊ । बेला बेलामा उपवास गर । शरीरको बनावट मांसाहारी होइन, साकाहारी भएकाले साकाहारी भोजन गर । प्रसन्न मुद्रामा खाने गर, तनावमा नखाऊ ।

 

यी आहार अनुशासनको पालना गर्ने हो भने शरीरमा बास गर्ने मधुमेह त के कडा र असाध्य किसिमका रोगसमेत स्वतः हटेर जान्छन् । भनिएको छ –खानपान ठिक नभएसम्म जस्तोसुकै जडी औषधि खाए पनि त्यसको काम गर्नेवाला छैन् । आहार नै सबैभन्दा ठूलो औषधि हो –खासगरी मधुमेह रोगका लागि ।