ग्रामीण कृषि सडकको आवश्यकता र यसले ल्याउने परिवर्तन

 rural-road

ग्रामीण क्षेत्रमा लगानी वृद्धि गरेर मात्र स्थानीयको जीवनयापनमा परिवर्तन आउने र पहुँच वृद्धि हुने स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक रामकृष्ण सापकोटाको धारणा छ । गाउँको विकास गर्न सके त्यसले ‘मल्टी डाइमेन्सनल’ फाइदा पुर्‍याउने उनको भनाइ छ । ग्रामीण क्षेत्रमा सडक विकासको आवश्यकता, त्यसले ल्याउने परिवर्तन र अवरोध विषयमा सापकोटाले यसरी बताएः

पहुँच वृद्धिका लागि गाउँमा लगानी वृद्धि
नेपाल गाउँ नै गाउँले भरिएको मुलुक हो । धेरै बस्ती गाउँ प्रकृतिका रूपमा रहेका छन् । विगतमा बनाइएका अधिकांश नगरपालिका पनि तुलनात्मक रूपमा गाउँ वा नगरोन्मुख ठाउँलाई नै नगरपालिका निर्माण गरिएको छ । एसियाभित्र वा बाहिरका मुलुकमा अध्ययन गर्दा पनि ती देशमा ग्रामीण विकास एउटा महत्वपूर्ण विषय रहेको पाउँछौँ । ग्रामीण विकासको कुरा गर्नेबित्तिकै पहिलो विषय गाउँमा रहने बासिन्दाको जीवनयापन र समृद्धि आउने गर्छ । उनीहरू सधैँ यिनै कुराको खोजीमा हुन्छन् । यसमा राज्यको ठूलो भूमिका रहन्छ । किनकि, सहरी क्षेत्रमा मात्र विकास गरेर देश समृद्ध हुन सक्दैन ।

रामकृष्ण सापकोटा,महानिर्देशक, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग

रामकृष्ण सापकोटा,महानिर्देशक, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग

जबसम्म मुलुकको सबै क्षेत्रमा रहने जनताको स्रोत–साधनमाथि समान पहुँच र बराबर व्यवहार हुँदैन, त्यो समाज स्वाभाविक रूपमा असमान बन्न पुग्छ । यसकारण राज्यले सिर्जना गर्ने अवसरमा जनताको समान पहुँच र व्यवहार रहनुपर्छ । त्यस्तो पहुँच भनेको शिक्षा आर्जन हुन सक्ला, स्वास्थ्य सेवामा पहुँच पुग्ने विषय होला, रोजगारी र सीप विकास हुन सक्लान् । यस्ता क्षेत्रमा जनताको पहुँच नभएसम्म समाज अघि बढ्न सक्दैन । यसकारण पनि ग्रामीण क्षेत्रमा लगानी गर्नु अति आवश्यक छ । लगानी गर्न कन्जुस्याइँ गर्नुहुँदैन । लगानी नगर्ने हो भने दुर्गम क्षेत्रका जनताको जीवनयापनमा परिवर्तन ल्याउने विषय कागजी मात्र हुन्छ । यथार्थमा केही हुँदैन ।

गाउँ र सहरमा असमान लगानी
संसारभर नै गाउँको तुलनामा सहरमा लगानी बढी रहने गरेको छ । यसले पनि असमान समाज बनाउन भूमिका खेलिरहेको छ । उदाहरणका लागि भारतको नयाँदिल्लीमा अत्याधुनिक मेट्रो निर्माण भइसकेको छ । एक्सप्रेस वे निर्माण भएका छन् । यसले त्यस ठाउँको समाजलाई प्रत्यक्ष रूपमा प्रभाव पारेको छ । जीवनयापनदेखि जीवनस्तर वृद्धि गर्नमा पनि भूमिका खेलेको छ । त्यस्तै, नेपालका काठमाडौं, पोखरा, विराटनगरलगायतका ठाउँमा दिल्लीजस्तै नभए पनि बढी सेवा र लगानी छ ।

त्यसको तुलनामा अन्य ग्रामीण क्षेत्रमा लगानी देखिँदैन । दूरदराजमा गएर हेर्ने हो भने राणाकालदेखि अहिलेसम्म पनि उल्लेखनीय परिवर्तन आएको पाउन सकिँदैन । किनभने, जुन स्तर र परिमाणको लगानी ग्रामीण क्षेत्रमा हुनुपर्ने थियो, त्यसो हुन सकेन । भएको लगानी पनि अत्यन्त थोरै भयो । जीवनयापनमा परिवर्तन ल्याउने तहमा लगानी भएन । थोरै लगानीले हामीले खोजेजस्तो जीवनशैली, अवसर र आर्थिक समृद्धि प्राप्त हुन सक्दैन ।

ग्रामीण क्षेत्र विकास भए स्वतः फाइदा
गाउँ र सहरको समानुपातिक विकास गर्न सकियो भने त्यसले पार्ने प्रभाव वा ल्याउने परिवर्तन धेरै ठूलो हुने गर्छ । गाउँ विकास हँुदै जानु भनेको त्यो सहरसँग जोडिनु पनि हो । यसकारण गाउँ र सहर जब जोडिन्छन् त्यसले सेवा उपलब्ध हुने पाटोबाट, गाउँमा उत्पादन हुने खाद्य सामाग्रीले बजार पाउने हिसाबबाट, सहर र गाउँबीचमा मानिसको क्रियाशीलता बढ्ने कोणबाट पनि यसले ल्याउने परिवर्तन हेर्न सकिन्छ । गाउँको उत्पादन सहरले प्राप्त गर्छ । सहरमा उपलब्ध हुने रोजगारी अवसर गाउँलेले पनि प्राप्त गर्छन् वा पहँुच स्थापित हुन्छ । उपचार वा शिक्षा आर्जन गर्न सहर आउने, ठूला–ठूला अध्ययन तथा अनुसन्धानका लागि गाउँको प्रयोग हुनेलगायतका ‘लिंकेज’ स्थापित गर्न सकिन्छ ।

बसाइँसराइ रोक्न र सहरीकरण व्यवस्थित बनाउन
सेवा–सुविधा गाउँ–गाउँमा पुग्ने वातावरण बन्यो वा पुग्यो भने मानिस आफ्नो थातथलो छाडेर हिँड्दैन । यसले बसाइँसराइको तीव्र गतिमा पनि कमी ल्याउँछ । अर्कातिर गाउँ छाडेर सहर नै पस्ने र त्यहीँ बस्ने जुन ट्रेन्ड देखिएको छ, त्यसमा पनि कमी आउँछ । किनकि, अहिले सहरमा बढ्दो जनसंख्याको कारण जुनखाले पूर्वाधार विकास विकास गर्नुपर्ने बाध्यता र आवश्यकता देखिएको छ त्यसमा कमी ल्याउन गाउँमै सेवा विस्तार गर्नुपर्छ । यसले मात्र मानिसलाई आफ्नो घरमै रोक्न सक्छ । नत्र अवसर खोजीमा, सेवा–सुविधाको खोजीमा मानिस सहर पस्छ । गाउँलाई आयआर्जन र जीवनशैलीसँग जोड्न छाड्छ ।

गाउँमै मानिस रहनु भनेको सहरलाई व्यवस्थित बनाउने मौका पनि हो । पछिल्लो १० वर्षमा जुन तरिकाले नेपालमा सहरी जनसंख्या बढेको छ, यसले सहर अव्यवस्थित बनाउन भूमिका खेलेको छ । अहिले नगरपालिका बनेका ठाउँलाई सहर मान्ने हो भने ४२ प्रतिशत जनसंख्या सहरमा बसोवास गरिरहेका छन् । तीव्र गतिमा सहरमा बस्ने जनसंख्या वृद्धि हुँदा सहरीकरणको चक्र नै अस्वाभाविक र अव्यवस्थित देखिन पुगेको छ । सामाजिक, आर्थिक समस्याको कारण पनि सहरीकरण भइरहेको देखिन्छ । तर, यसो हुनुमा ग्रामीण क्षेत्रमा भएको न्यून लगानी पनि एउटा कारक भने अवश्य हो ।

उर्वर जमिन बाँझोमा परिणत
मानिसको बसोवास सहरी क्षेत्र र सहरोन्मुख ठाउँमा बढ्दै जाँदा गाउँमा रहेको उर्वर जमिनसमेत बाँझोमा परिणत हुँदै गएको अवस्था छ । हाम्रोजस्तो सीमित उर्वर जमिन भएको कृषिप्रधान मुलुकमा यस्तो अवस्था आउनु दुःखलाग्दो विषय हो । जस्तोसुकै दुःख गरेर पनि सहरमा बस्ने प्रवृत्ति बढ्दै गएको छ । यसले अन्ततः गाउँका जग्गा खाली रहन पुगेको छ । यस्तो अवस्थामा परिवर्तन ल्याउन, पुनः गाउँ फर्काउन वा त्यही राखिराख्न पनि गाउँमा अवसर सिर्जना गर्नुपर्ने आवश्यकता छ । सरकारको जस्तै रोजगारीका अवसर नभए पनि कृषि, ग्रामीण पर्यटन, स्वास्थ्य सेवा, शैक्षिक संस्था, सडकमार्फत मानिसलाई गाउँमा राख्न सकिनेछ । यसका लागि कुन गाउँमा कस्तो सेवा–सुविधा आवश्यक पर्छ, पहिचान गर्ने र त्यसलाई पूरा गर्न राज्यले ध्यान दिन आवश्यक छ ।

देशको अर्थतन्त्रमा ठूलो योगदान
गाउँ विकास हुनु भनेको समग्रमा देश विकास हुनु हो । हाम्रो अर्थतन्त्रमा अझै पनि सबैभन्दा ठूलो योगदान कृषिको छ । त्यस हिसाबले हेर्दा कृषि उत्पादन बढीजसो सहरमा नभएर गाउँमै हुन्छ । यसकारण पनि गाउँको विकासमा ध्यान दिन जरुरी छ । त्यति मात्र होइन, हामीसँग रहेको विविधता पहिचान गर्ने र त्यसअनुसारको पूर्वाधार तयार गर्न आवश्यक छ । उदाहरणका लागि हिमाली र उच्च पहाडी क्षेत्रमा जडीबुटीको सम्भावना छ । त्यसका लागि प्रशोधन केन्द्र खोलेर होस् वा अन्य तरिकाले त्यसलाई प्रवद्र्धन गर्न सक्छाैँ ।

त्यस्तै, पहाडी क्षेत्रमा विभिन्न फलफूल र अन्य खेती गर्न सक्छौँ भने तराईमा विभिन्न बालीका खेती गरेर देशको अर्थतन्त्रलाई सबल बनाउन सकिन्छ । त्यसका लागि पूर्वाधारका रूपमा ग्रामीण सडक, खानेपानी, प्रशोधन केन्द्र निर्माण गर्नुपर्‍यो । तालतलैया, स्थानीय मन्दिर र गुफा, डाँडालगायतलाई प्रवद्र्धन, संरक्षण र स्थानीयको जीवनसँग जोड्न सक्नुपर्छ । यसले ग्रामीण क्षेत्रलाई मात्र होइन, समग्रमा देशकै आर्थिक अवस्थामा पनि योगदान पुर्‍याउँछ ।

ग्रामीण क्षेत्रका अत्यावश्यक पूर्वाधार
करिब तीन वर्षपहिले नेपालमा विकास समस्या के हुन् भनी अमेरिकन च्यालेन्ज कर्पोरेसनले गरेको अध्ययनमा दुईवटा अवरोधक भेट्टाएको थियो । त्यसमा पहिलो अपर्याप्त यातायात पूर्वाधार र दोस्रो ऊर्जा अभाव रहेको देखाइएको थियो । अन्य पनि अवरोधक छन् । तर, यी दुइटा प्रमुख हुन् । यसकारण यस्तो सडक होस्, जसलाई विश्वास गर्न सकियोस् । यो सडकमा हिँड्दा म सुरक्षित छु भन्ने अनुभव सर्वसाधारणलाई हुन सकोस् । यसप्रकारको सडक आवश्यक छ अहिले ग्रामीण क्षेत्रमा । यात्रु गन्तव्य गाउँ होस् वा पर्यटकीय ठाउँ, घर जान होस् वा कुनै, उसले जान चाहेको ठाउँमा बाह्रै महिना चल्ने सडक हुनुपर्छ । यसले समाजमा सकारात्मक प्रभाव पार्छ ।

तर, त्यो सडक सुरक्षित र विश्वासयोग्य भने हुनुपर्छ । सडकले हरेक सम्भावनालाई खुलाउँछ किनकि जब सडक बन्छ त्यहाँ अन्य विकास आयोजना पनि स्वतः सम्भावनायोग्य बन्न पुग्छन् । जलविद्युत् होस् वा खानेपानी, सबैका लागि यसले सहयोग पुर्‍याउँछ । ढुवानी सहज हुन्छ । गाउँका उत्पादनले बजार पाउँछन् । झोलुंगे पुल निर्माणका लागि आवश्यक सामग्री ओसार्न सहज हुन्छ । हाम्रा कतिपय आयोजना सडक नभएको वा विश्वासयोग्य सडक नभएको कारणले पनि बन्न सकेका छैनन् । अघि बढेका छैनन् । दोस्रो क्षेत्र भने ऊर्जा हो । अहिले हरेक क्षेत्र विद्युतीय बन्दै गएको छ । यातायातदेखि भान्सामा समेत विद्युत् प्रयोग हुन थालेको छ ।

ग्रामीण क्षेत्रमा भएको परिवर्तन
समाजलाई समग्र रूपमा लिने हो भने कुनै पनि परिवर्तनमा एउटा संस्थाले मात्र अपनत्व लिन सक्दैन । त्यसमा धेरै संस्था वा व्यक्तिको भूमिका रहन्छ । ग्रामीण क्षेत्रमा ५३ हजार किलोमिटर सडक निर्माण भएका छ्न् । यद्यपि, ती सबै सडक गुणस्तरीय र बाह्रै महिना सञ्चालन हुन सक्ने अवस्थामा छैनन् । तर, प्रयास भइरहेको छ । ६५ सय वटा झोलुंगे पुल निर्माण भएका छन् । यसको प्रयोग गर्ने मानिसको संख्या लाखाैँलाख छ । विद्यालय जान होस् वा स्वास्थ्य चौकी, यिनै पुलको प्रयोग गरिन्छ । त्यस्तै, अहिले सडकलाई थप स्तरोन्नति गर्न विभिन्न प्रयास भइरहेका छन । दातृ निकायसमक्ष पनि ग्रामीण पूर्वाधार निर्माणमा सहयोग बढाउन प्रयास गरिएको छ । अहिलेसम्म भएको विकास पर्याप्त छैन । तर, यसले ठूलो परिमाणमा कृषि क्षेत्रलाई सहयोग पुर्‍याएको छ ।