नेपाल ः पाँचवटा धर्मको उत्पत्तिस्थल

मोदनाथ प्रश्रित
नेपाल पूर्वी गोलाद्र्धका चारै महादेशको मध्यवर्ती विन्दुमा रहेको छ र दक्षिण एसियाको शिरविन्दुको रुपमा अवस्थित छ । नेपाल भूमि विश्वमा प्रचलित पाँच धर्मको उत्पत्तिस्थल वा प्रमुख केन्द्रको रुपमा रहेको छ । ती धर्म हुन् ः १) शाक्त, २) शैव, ३) वैदिक, ४) वैष्णव, ५) बौद्ध ।
१. शाक्त (देवीपूजक) धर्म
शाक्त धर्म विश्वकै आदि धर्म हो । संसारका सबै देश मातृतन्त्री युगबाटै अघि बढेका हुन् तर संस्कृति र धर्मको व्यवस्थित विकासका दृष्टिले दक्षिण एसियाको हिमाली क्षेत्र सबभन्दा अग्रीम पंक्तिमा रहेको छ ।
मानव सभ्यताको आदिकालका महामाताहरुको सम्मान र आराधनाबाट आएको मातृशक्तिको पूजा परम्परा नेपालका प्रत्येक गाउँगाउँमा अहिलेसम्म पनि व्यापक रुपमा प्रचलनमा रहेको छ । नेपालभरि विभिन्न नामका देवीहरुका शक्तिपीठहरु कति संख्यामा रहेका छन्, गनि साध्य छैन ।
नौवटी आदिमाताहरु र तिनका शक्तिका प्रतीक हतियारहरुको समेत ९ दिनसम्म पूजा गर्ने, आदिम शिकारी युगको प्रतीक पशुको बलि दिने दसंै चाड नेपाली जनतामा सबभन्दा बढी लोकप्रिय छ । दसैंको बेला देश–विदेश पुगेका नेपालीहरु देवीको प्रसाद टीका जमारा आमा बुवाको हातबाट लगाउन लामो विदा लिई ठूलो खर्च गरेर पनि घर आइपुग्नुलाई ठूलो सौभाग्य ठान्दछन् । दसैंको बेला नेपालको राजधानी पूरै रित्तो हुने कुराले पनि नेपाली समाजमा धर्म संस्कृति प्रति जनताको कति ठूलो र व्यापक आस्था छ भन्ने स्पष्ट हुन्छ ।
शक्तिपूजाको मूलमा पौराणिक या प्रागऐतिहासिक कालमा आर्यमूलका दक्ष प्रजापतिकी छोरी सतिदेवीले किरात मूलका रुद्र (शिव) सँग विवाह गरेर आर्य जाति र किराँत जातिका बीचको जातीय, धार्मिक र सांस्कृतिक द्वन्द्वको समाधानका निम्ति बलिदानपूर्ण ठूलो साहस देखाएको साक्षी बनेका छन् पुराणहरुले ।
२. शैव धर्म
शैव धर्म र संस्कृतिको प्राक्ऐतिहासिक उद्गम क्षेत्र कैलाश मानसरोवर हो । यो रुद्रगणहरुका पूर्वजहरुको उद्गम र विचरण क्षेत्र हो । कैलाश भन्दा माथिको पामीर क्षेत्र देव मूलका इन्द्र आदिको मूलभूमि थियो । कैलाश सहित तिब्बत (त्रिविष्टप) को भूमि ज्यादै चिसो र कम उर्वर भएकाले किराँतका नायक ‘पशुपतिहरु’ क्रमशः नेपालतिर सर्दै आए । उनीहरुले सर्वोच्च हिमाली श्रृंखलाका दक्षिणतिर हरिया जंगल, उर्वर भूमि र पानीको सुविधा भएका ठाउँहरुमा बस्ती बसाउन थाले ।
उनीहरुको जीविका शिकार र पशुपालन थियो । किराँतरुका नायकहरु तन्त्र र युगका साधक थिए । उनीहरु संगीतप्रिय थिए र नाचगान गरेर रमाउँथे । भाला, त्रिशूल, बञ्चरा जस्ता हतियार चलाउने किराँतहरु निकै लडाकु स्वभावका थिए । तिनै किराँतहरुका अनेक गणहरुको बीचबाट परस्पर सहयोग गर्ने सामूहिक संस्कृतिको विकास भएको थियो । तिनीहरु मध्येका सबभन्दा ज्ञानी र सबैलाई भलाईको नेतृत्व गर्ने व्यक्ति सन्त शिवको रुपमा चर्चित हुँदै आए ।
शैव संस्कृति फैलिँदै फैलिँदै हिमाली र पर्वतीय क्षेत्रमा व्यापक हुँदै गयो । उनीहरुका शस्त्रास्त्रको माग बढ्दै गयो । तिनको नाट्य र संगीत लोकप्रिय हुँदै गयो । तन्त्र शास्त्रले ख्याती पाउँदै गयो । हिमाल र पहाडको जाडोलाई जित्दै दीर्घजीवी हुने योगशास्त्रको विकास गरे किराँत नायक शिवले । हिमाली क्षेत्रमा मूल्यवान औषधिहरुको खोज र प्रयोग बढ्दै गयो । खनिज धातुहरुको पनि क्रमशः खोज र प्रयोग हुन थाल्यो ।
त्यसरुपमा शैव संस्कृति बढ्दै गएपछि सुर, असुर, भूत, यरु, रक्ष, नाग आदि जातिपनि त्यसबाट प्रभावित हुँदै गए । शिव सबको कल्याण गर्ने, शंकरको रुपमा प्रशिद्ध भए । उनलाई यक्षेश्वर, किराँतेश्वर, नागेन्द्र आदि सम्मान मिल्न थाले । असुर र रक्ष जातिका विरोधी सुर या देवजातिले पनि संकटको बेला शिवलाई गुहार्नुपर्ने स्थिति आयो । त्यसैले उनी देवहरुमा पनि महादेवमा प्रसिद्ध हुँदै गए । यस रुपमा नेपाल भूमि शैव धर्मको उद्गम भूमि बन्न पुग्यो ।
पौराणिक र बौद्धिक धर्महरुले जुन सत्य, त्रेता, द्वापर र कलि चार युगको वर्णन गरेका छन् । ती चार युगका देवी र देवताहरुमा शैलपुत्री पार्वती आदिमाताको रुपमा प्रशिद्ध छन् भने शिव या महादेव सत्य युगका देवताका रुपमा विख्यात छन् । छालाका वस्त्र, गुफाको बास, विभूति (खरानी) लेपनको न्यानो, पानी खाने पात्र– गौरी गाईका सिङ, उपचारको लागि तन्त्रमन्त्र, हतियार–त्रिशूल र धनु, बाजा– डमरु, बाहन–साँढेगोरु, निवास–हिमाली र पहाडी क्षेत्रका गुफा, गुह्येश्वरी, शिवलिंगको पूजा आदि आदि लक्षण भएका शिव र पार्वतीलाई आदिम युग या सत्य युगका देवता भनिएको छ ।
शिव परिवारमा गणेश र कुमार (कार्तिके) पनि छन् । गणेशको शिर हात्तीको जस्तो प्रतीकात्मक छ । कुमारको बाहन मयूर छ । शिवको घाँटीमा विषधर गोमन सर्प छ । यी तीनवटै नेपालको तराई भू–भागमा पाइन्छन् ।
शिवका मन्दिरहरु नेपाल र भारतमा यत्रतत्र भेटिन्छन् तर शिव हिमालबासी भनिएका र शिवको प्राचीन मुख्य धाम भक्तपुरको डोलेश्वर र काठमाडौंको पशुपति क्षेत्र भएको कुरामा कसैले विवाद गरेको देखिन्न । यी सबै सन्दर्भबाट शैव धर्मको प्रमुख केन्द्र नेपाल भएकोमा शंका गर्नुपर्ने ठाउँ छैन ।
आयुर्वेदको प्रसिद्ध ग्रन्थ चरक संहिता अनुसार प्राचीन युगका अंगिरा, जमदग्नि, वशिष्ठ, काश्यप, भृगु, आत्रेय आदि सयौं ऋषिहरुले आयुर्वेदको विकास निम्ति हिमालय क्षेत्रमा ठूलो सम्मेलन गरी वन औषधीहरुको अनुसन्धान गरेका थिए । (सूत्र स्थान, पहिलो अध्याय) ।
३. वैदिक धर्म
ऋग्वेदको रचना अनेकौं ऋषिहरुबाट भएको हो । अर्थात् सयौ ऋष्षिका चिन्तनका रुपमा व्यक्त भएका मन्त्र या ऋचाहरुको सङ्कलन हो । ऋग्वेदमा रुद्रहरुको वर्णन धेरै ठाउँमा छ तर शिवको उल्लेख कतै छैन । ऋग्वेदका स्रष्टाहरु धेरैजसो ठाउँमा रुदहरुबाट भयभीत देखापर्दछन् ।
एक उदाहरण “हे रुद्र हाम्रा वृद्धलाई नमार, हाम्रा बालबालिकाहरुलाई नमार, हाम्रा युवाहरुलाई नमार, हाम्रा गर्भका बच्चालाई नमार, हाम्रा पितामातालाई नमार, हाम्रा प्रिय शरीरहरुलाई दुःख नदेउ” (ऋग्वेद १÷११४÷१७)
वैदिक आर्य र रुद्रहरुको बीचमा सुरुमा यस्तो कटु सम्बन्ध देखिए पनि पछि दुवैथरी नजीक हुँदै जाँदा सम्बन्ध सुमधुर हुँदै गएको देखिन्छ । –हे रुद्रदेव तिमीलाई भौतिक र दिव्य विभूतिका रुपमा चिनिन्छ, तिमी सबैलाई सुखी र सम्पन्न बनाउँदै हामीलाई निरोगी बनाएर हाम्रा घरमा निवास गर (ऋग्वेद ७÷४६÷२) ।
यजुर्वेद युगमा आइपुग्दा आर्य र रुद्रहरुको सम्बन्ध धेरै घनिष्ट भएको थियो । मिथिलाका राजपुरोहित याज्ञवल्क्यले सम्पादन गरेको यजुर्वेदमा रुद्रलाई अत्यन्त सम्मान गर्दै सिंगो सोह्रौं अध्याय प्रस्तुत गरेका छन् । त्यसमा रुद्रलाई उच्च पर्वत (हिमाली क्षेत्रका) गुफाबासी, गणपति, सभापति, सेनापति, पशुपति, शिव आदि शब्दले सम्बोधन गरेका छन् । उक्त सोह्रौं अध्याय रुद्राभिषेक (रुद्री) को रुपमा प्रख्यात भएको छ । ती रुद्रगणहरुका नायक शिव नेपालमा ‘पशुपति’को रुपमा विख्यात् छन् । पशुपति मन्दिरको पूर्वतिर सति (पार्वती) गुह्येश्वरीको रुपमा स्थापित छन् ।
यस रुपमा मिथिला जनपद स्थापनाको पाँच पुस्ता पछि देवराज जनक र याज्ञवल्क्यको समयमा वैदिक आर्य र रुद्रगणहरुको बीचमा मित्रतापूर्ण वातावरण बनेको देखिन्छ । त्यो मित्रता क्रमशः फैलिँदै गयो ।
यी सन्दर्भहरुबाट स्पष्ट हुन्छ । मिथिला क्षेत्रमा आएपछि विभिन्न ऋषिहरुका फरक–फरक चिन्तनमा आधारित वैदिक धर्म संस्कृतिले संस्थागत रुप लियो । रुद्र (किराँत, यक्ष आदि) र वैदिक धर्म संस्कृति बीच मित्रता र सामञ्जस्यको संस्कृति बढ्दै गयो । त्यसपछि समाजमा विभिन्न व्यवसायहरुको विकास हुन थालेपछि चार वर्णको रुपमा श्रम विभाजन हुँदै गयो ।
दक्षिण एसियाका पुराण र अन्य ग्रन्थहरुमा सेतो, रातो, पहेलो, कालो वर्णका देवी देवताहरुको वर्णन पाइनाले वैदिक आर्य, खस आर्य, मंगोल (किराँत), आष्ट्रिक, द्रविड आदि सबै मूलका मानव समुदायको सामान्जस्य हुँदै गएको स्पष्ट हुन्छ । ती समुदायका विभिन्न पेशा, व्यवसायहरुको विकास हुँदै जाने क्रममा वर्ण व्यवस्था (शरीरको वर्ण र श्रमको वर्गीकरणका आधारमा जातपात छुवाछूत प्रथा) मौलाउँदै गयो ।
४. वैष्णव धर्म
वैष्णव धर्म वैदिक धर्मकै एक विशिष्ट शाखाको रुपमा अगाडि आएको हो । वेदमा विष्णु देवताको प्रशस्त वर्णन छ । प्रायः विष्णुलाई सूर्यको रुपमा पनि प्रस्तुत गरिएको छ । विष्णुका अनेकौं अवतारको कल्पनाको रुपमा राम, कृष्ण र बुद्धलाई समेत समावेश गरिएको छ ।
विशेष गरी राम अवतार पछि वैष्णव धर्म बढी प्रचारमा आएको हो । रामको विवाह मिथिलाका राजश्रि सीरध्वजजनककी छोरी सीतासँग भयो । वदेमार्गी वशिष्ठले सीरध्वजजनकभन्दा बाइस पुस्ता अघिका निमिजनकलाई श्राप दिएपछि उनका छोरा मिथिजनक र राज गुरु गौतम रहुगण पूर्वतिर आई नारायणी नदी देखि कोशी नदीको बीचमा मिथिला गणतन्त्र स्थापना गरेका थिए र जनकवंशले शैव धर्म अंगालेको थियो ।
वैष्णवमार्गी रामले शैवमार्गी जनककी छोरी सीतासँग विवाह गरेपछि वैष्णव धर्मले पनि मिथिलामा सम्मान पायो । मिथिलाको पश्चिमी किनार नारायणी (तमसा नदीको तटमा आश्रम बनाई बसेका महर्षि वाल्मीकिले राम र सीताको समग्र जीवन चरित्र (रामायण) को रुपमा रचना गरेपछि यहाँ वैष्णव धर्मले पनि संस्थागत रुप लियो ।
तन्त्रप्रधान शैव धर्म र मन्त्रप्रधान वैदिक धर्मको द्वन्द्व पनि लामै समय चल्यो । त्यसलाई समाधान गर्न शिव र विष्णु समान महत्वका हुन् । यी दुईको बीचमा भेदभाव गर्नु, यी ठूला र यी साना हुन् भन्ने धारणा राख्नु पाप हो भन्ने व्यापक अभियान चलाइयो । पछि क्रमशः ती दुवै देवता र धर्मले बहुजातीय दक्षिण एसियाली समाजमा मान्यता पाउँदै गए । त्यति मात्र होइन रामले शिवको पूजा र शिवले रामको पूजा अर्थात् सम्मान गरेका कथा पुराण पनि रचिए ।
५. बौद्ध धर्म
विद्वानहरुको बीचमा शैव धर्म र वैष्णव धर्मको सामन्जस्यको प्रयत्न चल्दै गए पनि वेदमार्गीहरुको बीचमा ठूलो–सानो, जातपात र छुवाछूत जस्तो अमानवीय भेदभावपूर्ण ‘चतुर्वर्ण व्यवस्था’ले जरो गाड्दै गयो । त्यसले एकप्रकारको श्रम विभाजनको रुपमा विविध भौतिक वस्तु उत्पादनको क्षेत्रमा केही प्रगति हुँदै गयो तर एउटै उद्गमको मानव जातिको बीचमा वर्णागत विभेद र छुवाछूत सम्मको घोर अपमानजनक स्थिति आयो ।
पुरुष र महिलाको बीचमा पनि ‘स्वामी’ र ‘दासी’को अवस्था देखाप¥यो । मानव समाजमा मानवीय भावना भन्दा जातपात छुवाछुत जस्तो अमानवीय र ज्यादै भेदभाव र असमान स्थिति बढ्दै गयो ।
त्यस स्थितिको विरोधमा शैव संस्कृतिको तन्त्रवाद र योगदर्शनले केही भूमिका खेले । जुनसुकै जात र वर्णको मान्छे पनि तान्त्रिक उपचारकको रुपमा या योगीको रुपमा प्रस्तुत हुँदा उसको वर्ण र जात गौण भई समाजमा सम्मान पाउने स्थिति केही मात्रामा देखाप¥यो तर दक्षिण एसियामा आर्य, मंगोल, आष्ट्रिक, द्रविड चार प्रजातिका भिन्न–भिन्न संस्कृति या आहार विहारको भिन्नताले गर्दा समान मानवीय मर्यादाको सम्मान र विकास हुन सकेन ।
त्यस्तो स्थितिमा नेपाल तराईका महान तत्वविद् दार्शनिक कपिलले सांख्यदर्शन (जसमा विश्व प्रकृतिका मूल २५ तत्वको वर्णन गरिएको छ) प्रस्तुत गरी विज्ञान सम्मत रुपमा जातिभेद समाधानको उपाय खोजे । त्यसलाई गौतम बुद्धले पनि ग्रहण गरे तर त्यसबाट पूर्ण सन्तुष्टि हुन नसकी उनले जात, जाति, वर्ण, भेद, छुवाछूत आदि विरुद्ध समान मानवतावादको दर्शन अघि सारे । त्यसका विरुद्ध वर्णवाद, जातपात छुवाछुत प्रथाका परुधरहरुले बुद्धलाई नास्तिक, पाखण्डी भन्दै ठूलो विरोध अभियान चलाउन थाले ।
तर बौद्ध दर्शन दक्षिण एसियाको उत्तरवर्ती क्षेत्रमा सफल हुँदै क्रमशः विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको छ । लामो समयसम्म हैकम चलाएको वर्णवादी जातपात प्रथा आधुनिक भौतिक विज्ञानको विकास र विस्तारको क्रममा अहिले क्रमशः शिथिल हुँदै गएको छ । बौद्ध दर्शनका साथै मानवीय मर्यादा र समताभावको संस्कृति विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको छ ।
अहिले विज्ञान र उद्योग व्यवसायको बिस्तार र मानव जातिको व्यापक अन्तर्राष्ट्रिय आवागमनले वर्ण र पेशाको आधारमा परम्परागत रुपमा रहेका ऊँचनीचका भावना क्रमशः शिथिल हुँदै छन् तर भौतिकवादी दर्शनको विश्वव्यापी प्रचार र आधुनिक विज्ञानले चन्द्रमा र मंगलग्रहमा बस्ती बसाउने प्रयत्न गर्दा पनि मानव समाजमा धर्मप्रतिको आस्था र विश्वासमा उतिसारो कमी आएको छैन ।
विज्ञानको क्षेत्रमा अग्रणी स्थानमा पुगेका पश्चिमी मुलुकहरु पनि राष्ट्रपति, न्यायाधीश आदिजस्ता पदभार ग्रहण गर्दा बाइबल समाएर सपथ ग्रहण गर्ने स्थितिबाट उम्कन सकेका छैनन् । कम्युनिष्ट सत्ता भएको चीनमा ताओ, कन्फूसियस, बुद्धप्रतिको सम्मान बहुमत जनतामा रहेकै देखिन्छ ।