दुर्गम हुम्लामा सिटिजन्स बैंकको नयाँ शाखा

हुम्लाको सर्केगार्ड गाउँपालिकामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६४ औँ शाखा स्थापना गरेको छ।
  
सदरमुकाम सिमकोटसम्म पैदलमै हिँडेर दुई दिन लाग्ने हुम्लाको मध्यक्षेत्रमा बैंकको शाखा स्थापना भई, बैंकले आफ्नो व्यावसायिक कारोबार सुरु गरेको सिटिजन्स बैंक सिमकोटका म्यानेजर प्रकाश महतले जानकारी दिए। बैंक स्थापना भएलगत्तै बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ कारोबारको सुरुआत गरे ।
  
सर्केगाढ गाउँपालिका अध्यक्ष कृष्ण रोकायाका र विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु साथै नागरिक समाजका अगुवाहरुको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरिएको सर्केगाढबाट प्रकाशबहादुर शाहीले बताए। अहिले तीनजना कर्मचारीबाट बैंकले आफ्नो दैनिक बैकिङ कार्य सुुरु गर्नुको साथै सरकारी गैरसरकारी कार्यालयकाहरुको बैंक खातासमेत सञ्चालनमा आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड सिमकोट शाखा प्रमुख प्रकाश महतले बताए।
  
सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई देशैभरी फैलिएका यस बैंकको ६४ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ सेवाहरुबाट करिब तीन लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ। साथै आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउने सर्केगाड बंैक शाखाका इन्चार्ज अर्जुन रावलले बताए ।
 
 देश संघीयतामा गएसँगै दूरदराजमा रहेका स्थानीयबासिन्दालाई बैंकिङ सुविधासँग पहुँच पुर्‍याउने उद्देश्यले हुम्लामा सिटिजन बैंक स्थापना गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटाले बताए। ग्रामीण क्षेत्रमा रहेका कृषि, पशुपालन लगायतका क्षेत्रमा प्रशस्त लगानी गर्ने बैंकको उद्देश्य रहेको जानकारी दिए ।
  
हुम्लामा अब बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम सिमकोट पुग्नुपर्ने समस्या अन्त्य भएको सर्केगाढ गाउँपालिका ५ का रिपगाउँ निवासी चन्दसिंह कार्कीले खुसी व्यक्त गरे।