शिक्षा रोजगारमूलक हुनुपर्छ : महामन्त्री डा कोइराला

भक्तपुर, जेठ २६ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बेरोजगारी समस्या समाधान गर्न प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कर्मचारी संघ केन्द्रीय कार्यसमितिको छैटौँ केन्द्रीय महाधिवेशनको भक्तपुरको सानोथिमिमा आज उद्घाटन गर्दै महामन्त्री कोइरालाले यस्तो बताउनुभएको हो ।
काँग्रेस नेतृत्वको सरकारले स्थानीयदेखि प्रदेश र संघीय निर्वाचन गराएर मुलुकमा स्थिरताको बीउ रोपेको चर्चा गर्दै महामन्त्री डा कोइरालाले अबको शिक्षा बेरोजगार बढाउने नभई रोजगारमूलक हुनुपर्नेमा जोड दिनुभयो ।
‘सीपयुक्त समाजको निर्माण आजको आवश्यकता, सुरक्षित र मर्यादित रोजगारीका लागि प्राविधिक शिक्षा’ भन्ने नाराका साथ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अबको शिक्षा सीप र संस्कारयुक्त हुनुपर्नेमा जोड दिनुभयो ।
प्रवक्ता शर्माले वर्तमान शिक्षाले बेरोजगारी बढाएको उल्लेख गर्दै सिटिइभिटीले अझै रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका केन्दी्रय सदस्य गुरुराज घिमिरेले मुलुक स्थिरतातर्फ गइरहेको अवस्थामा सरकारले राजनीतिलाई टाढा राखेर प्राविधिक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नयनसिंह महरले वर्तमान सरकारले शिक्षाको विकासमा ध्यान नदिएको आरोप लगाउनुभयो ।
सरकारले सय दिनको अवधिमा पाँचपटक पेट्रोलियम पद्धार्थको मूल्य बढाएर जनताको ढाड सेक्ने काम गरेको उल्लेख गर्दै अध्यक्ष महरले त्यसविरुद्ध नेविसंघले चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कर्मचारी संघका केन्द्रीय अध्यक्ष देवदत्त बडूको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का उपाध्यक्ष डा कुलबहादुर बस्नेत, परिषद्का निमित्त सदस्य सचिव रमेशकुमार बखतीले राज्य पुनःसंरचनासँगै सिटिइभिटीलाई थप जिम्मेवार बनाउन यसलाई विश्वविद्यालयको मोडालिटीमा लग्नुपर्नेमा जोड दिनुभयो ।
दुई दिनसम्म चल्ने अधिवेशनमा ३४ वटा आंगिक स्कूल केन्द्र, टिआइटिआईका गरी करीब २०० जनाको सहभागिता रहेको छ । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने बताइएको छ ।