गृहमन्त्रीज्यु ! निकै गाह्रो छ ‘झण्डा हल्लाएर’ भन्दा डण्डा चलाएर बस्न हगि ?

 

प्रकाशित मिति : २०७५ जेष्ठ २७

काठमाडौं, जेठ २७ । रामबहादुर थापा बादल गृहमन्त्री भएपछि सुधारका केही कामहरु गरौं भनेर लागि पर्न थालेका भए पनि उनलाई मीठो खाना केही गास निले लगत्तै दाँतमा ढुङ्गो लाग्न पुगेको छ । उनका पार्टी अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्री बादललाई आफ्नाे कोठामा बोलाएर साफसँग हप्काएपछि उनलाई साह्रो गाह्रो पर्न गएको हो ।

सार्वजनिक यातायातमा वर्षाैंदेखि रहेको सिण्डिकेटको अन्त्य, सुन तस्करीको जरोबेलोको उत्खनन्, गुण्डागर्दी नियन्त्रण, ठेकेदारी सिण्डिकेट आदिको अन्त्य गर्न उनले हात अघि बढाए पनि । सुरुका अनुसन्धान तथा काम कार्वाही केही सहज भए र प्रतिफल पनि हात लागे ।

तर जब अध्ययन तथा अनुसन्धानका विषयहरु लहरो तान्दा पहरो गर्जिए झैं संसद तथा सरकारका उच्च तथा सर्वोच्च ओहदासम्म ठोक्किन थाले, तब गाह्रो भयो उनलाई । राम्रा कामहरुको सुरुआत त्यो पनि असल मनसायका साथ गर्न थालेकाले सबैको साथ सहयोग मिल्ने उनको सोझो नियतले देखेको हुनु पर्छ ।

तर उनले लियो टाल्सटायको तीन कुराहरु ‘के’, ‘कोसँग’ र ‘कुन बेला’ भन्ने बुझेनन् । पहिलो हो, उनी के गर्दै छन् ? उनलाई अझैं पनि माओवादी भएको ह्याङओभर बाँकी छ । उनले ‘जनविरोधी’, ‘जनताका दुश्मन’, ‘अन्याय अत्याचार’, ‘शोषक जालिफटाह’ जस्ता शब्दहरु अझैं प्रयोग गरिरहन्छन् ।

तर यथार्थ कुरा के हो भने उनी नयाँ भर्ति भएको पार्टी माओवादी होइन । उनी सामेल भएको सरकार न त कम्युनिस्ट हो, न त वामपन्थी नै । त्यो त दामपन्थी तथा खामपन्थीको सरकार हो । त्यसैले उनी आफू, आफ्नो पार्टी र आफ्नै सरकारका स्वार्थ विरुद्ध जानेर वा नजानेर खनिएका छन् । मयुरका २/४ वटा प्वाँख पखेटामुनि लगाउँदैमा काग मयुर हुँदैन, काग कागै हो । ‘का का’ गरेर बोल्नु नै उसको पहिचान हो । यस अर्थमा उनी आफैले म के भएको छु र के गर्दैछु भन्ने कुरा बुझेनन् ।

दोस्रो महत्वपूर्ण कुरा, उनको पार्टी र सरकारको सहकार्य माफिया, तस्कर, गुण्डा, ठेकेदार, दलाल नोकरशाह तथा विदेशी प्रभुहरुसँग हुन्छ । यो वर्तमानमा उनी बसेको पार्टी र सरकारको वर्ग चरित्र नै हो । हाल उनी डोनाल्ड ट्रम्प झैं भएका छन् । ट्रम्प आफ्ना व्यापार साझेदारहरु विरुद्ध गएर एक्लिन पुगे । गृहमन्त्री बादल पनि आफ्ना मान्य नेतागण (जो सुन काण्डका ठूला माछा हुन्) र सरकार विरुद्ध सोझिएकाले एक्लिन पुगेका छन् । उनले कोसँग काम गर्दै छु भन्ने बिर्सिए । उनका प्रधानमन्त्री ओलीको सुशासन, समृद्धि र विकास भनेको त देखाउलाई मात्र हो । त्यो उनले हेक्का राख्न सकेनन् । शायद सरल र भोलाभाला स्वभाव भएकाले उनी बेलाबेलामा यी र यस्ता कुरामा फस्छन् होला । तेस्रो र अर्को महत्वपूर्ण कुरा हो कुन बेला उनले यो काम गरिरहेका छन् ? उनले यी सबै कामहरु बहुमतको सरकार भएको र विदेशी प्रभुले स्यावास् भनिरहेको बेला गरिरहेका छन् । यो बेला भनेको तस्करहरुको सेटिङमा सुशासन ल्याउने, गुण्डाहरुलाई चुनावमा प्रयोग गरी विजय हासिल गरेकाले उनीहरुको समृद्धिमा ध्यान दिने, ठेकेदारहरुको समुन्नति गरी समाजवादको दिशामा अघि बढाउने, प्रहरीलाई व्यवसायिक भन्दा पनि व्यवसाय उन्मुख गराउने ताकि सरकारी धन्दा फस्टाओस्, काङ्ग्रेसको यातायात सिण्डिकेट तोडेर वाम तथा कम्युनिस्ट यातायात सिण्डिकेट खडा गर्ने, ठूला माछाहरुको नयाँ नयाँ आयस्रोतहरु राज्यस्तरबाटै खोजी गरी थप विकास गर्ने र यो समग्र भूमिगत सञ्जाललाई समाजवाद निर्माणका आधारहरुको रुपमा अङ्गीकार गरी अघि बढाउने बेला हो ।

तर गृहमन्त्री बादलजी भने यसको खिलाफमा उत्रन खोजेको प्रस्ट आभाष भएपछि उनले पुष्पकमल दाहालको खप्की समेत् खाएका छन् । उनलाई गृहमन्त्रीको हैसियतले देखाएका हाउँगुजीहरु सबै फिर्ता लिन पूर्व सुप्रिमोद्वारा कडा चेतावनी समेत् दिइएको पनि छ ।

उनले ‘राष्ट्रिय जनवाद’ र ‘राष्ट्रिय समाजवाद’को अभ्यास जुनसुकै खालको सरकारमै बसेर गर्न सकिने सिद्धान्तको पक्षपोषण गर्ने गरेका छन् । शान्ति प्रक्रियामा आएपछि माओवादी दुई धार र दुई सङ्गठनमा विभाजित हुँदा कहिले दाहाल त कहिले वैद्य सङ्गठनमा ओल्लो घर र पल्लो घर चाहर्ने बादलले आफूले वैद्यघर छोड्दा नेता मोहन वैद्य किरणलाई ‘पाखामा बसेर झण्डा हल्लाइ राखेर हुनेवाला केही छैन, पौडी खेल्ने आँट गर्नुपर्छ ’ भनेका थिए । त्यस, पछि उनी संसदीय व्यवस्थामा नाकबुडी खेलेर डुबुल्की मार्न दाहाल घरमा साइत सारेका थिए । अहिले उनीसँगै दाहाल घर साइत सारेका उनका कार्यकर्ताले सोधिरहेका छन्– ‘बादलजी ! निकै गाह्रो छ झण्डा हल्लाएर भन्दा डण्डा चलाएर बस्न हगि ?