१९ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

सांकेतिक तस्बीर 

काठमाडौँ, साउन २७ । १९ औँ अन्तर्राष्ट्रिय युवा दिवस आइतबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष अगस्ट १२ का दिन विश्वभर युवा दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको हो ।

 

युवाका सवालमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गरान यो दिवस मनाउने गरिएको छ । दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लान युवा सहभागितालाई थप सक्रिय गर्ने उपाय तथा हुनसक्ने परिवर्तनको विकल्पलाई देखाउँछ । विभिन्न देशमा त्यहाँको परिवेश अनुसार युवा उमेरको हद तोकिएको छ ।

 

उमेरको परिधि जति भए पनि युवा उमेर भनेको जोश, जाँगर र समाज तथा राष्ट्रका लागि केही योगदान दिन सक्ने सयम हो । दिवसको अवसरमा यो वर्षको नारा, ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने तय गरिएको छ । विश्वमा अहिले १० देखि २४ वर्ष उमेरका एक अर्ब ८० करोड मानिस छन् ।

 

नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन लागिएको हो । यस वर्ष युवा दिवसका लागि संयुक्त राष्ट्रसंघले ‘सेफ स्पेस फर युथ’ भन्ने नारा बनाएको छ भने नेपालमा यसलाई ‘युवाका लागि सुरक्षित वातावरण’ भनेर तय गरिएको छ ।

 

रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको खिच्ने उद्देश्यले यो नारा तय गरिएको हो ।

 

अहिले नेपालमा युवाको जनसङ्ख्या सबैभन्दा बढी ४०.३५ प्रतिशत छ । यसलाई अर्थशास्त्रीले जनसाङ्ख्यिक लाभका रूपमा हेर्ने गर्छन् । धेरै मुलुकमा युवा जनसङ्ख्या बढी भएको समयमा विकासमा फड्को मारेका उदाहरण छन् । तर नेपाललले युवा जनशक्तिलाई सदुपयोग गर्न नसक्दा झण्डै ४० लाख युवा विदेशमा श्रम बेच्न बाध्य रहेका छन् ।