क्रान्तिकारी पत्रकार महासंघको विशेष राष्ट्रिय भेला अाज बाट सुरू

काठमाडौं भदाै १९ । क्रान्तिकारी पत्रकार महासंघको विशेष भेला उद्घाटन कार्यक्रम अनामनगर घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको हलमा मंगलवार सम्पन्न भएको छ । संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत महासंघको आगामी नियमित सम्मेलन भव्य रुपमा सम्पन्न गर्नका लागि सम्मेलन आयोजक समिति निर्माण र कामका बाँडफाँडका लगि यो विशेष भेलाको आयोजना गरिएको हो ।

विशेष भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले आजको राष्ट्रिय भेलाले एउटा सबल तथा दूरदर्शी नेतृत्व टिमको हैसियतले आगामी सम्मेलन भव्य रुपमा सफल पार्न सरल, वैज्ञानिक एवम् परिणाममुखी कार्यक्रमहरु अघि बढाओस् भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

 

आफ्नो वर्गका लागि वर्गीय प्रतिवद्धता अर्को विपरीत वर्गका लागि दमन नै हो । अहिले सरकारमा बसेका नामधारी कम्युनिष्टहरु संसदीय व्यवस्थाका महाराजाधिराज बनेका छन् ।

 

ज्ञान र सिद्धान्तमा रुप र सार एक ठाउँमा हुनुपर्छ भन्दै महासचिव किरणले वर्तमान वाम भनिने सरकार रुपमा हेर्दा समृद्ध नेपाल, सुखी नेपाली, समाजवाद, देशमा रेल र पानी जहाजका सपना आदि देखिने तर सारमा फासीवादीकरण, दमन, ढाँट, छलकपट, दमन, हत्या, बन्दुकको डरत्रास मात्र रहेको बताए ।

 

कार्यक्रमका विशेष अतिथि तथा नेकपा (क्रान्तिकारी माओवादी) स्थायी समिति सदस्य रामसिंह श्रीसले बाहिरी स्वरुपमा देख्दा नेकपाको सरकार छ र समाजवाद निर्माण गर्ने कुरा गरिरहेको छ तर भित्री रुपमा भने यो दलाल तथा नोकरशाही वर्गको सरकार हो । यसको चरित्र स्वतः जनविरोधी छ । उनीहरु प्रतिक्रान्तिकारीहरु हुन्, त्यसैले, उनीहरु जनविरोधीहरु पनि हुन् ।

 

नेता श्रीसले नेपालमा अहिलेको सञ्चार जगत दुई कित्तामा बाँडिएको भन्दै एउटा सत्ताको चाकरी र चाप्लुसी गर्ने र अर्को जनविरोधी सत्ताको विरोध गर्दै जनताको पक्षमा बोल्ने क्रान्तिकारी पत्रकारमा विभाजित भएको बताए । हामीले हाम्रो विचार, राजनीति तथा कार्यक्रमहरुलाई निरन्तर प्रचार गर्दै लैजानु पर्छ भन्ने कुरामा जोड दिए ।

 

अर्का विशेष अतिथि तथा पीवीएम् दिनेश शर्माले आगामी दिनमा कुशलतापूर्वक नेतृत्व गर्दै क्रान्तिकारी पत्रकारलाई लैजानु पर्ने कुरालाई हेक्का राख्नुपर्ने कुरामा जोड दिए । क्रान्तिकारी संघर्षहरुमा संख्याले धेरै निर्णायक महत्व राख्दैन । तर आवश्यकता अनुसार मात्रा पनि चाहिन्छ भन्दै शर्माले क्रान्तिकारी पार्टी र विचारको पक्षमा समाचारहरु सम्प्रेषण होओस् किनकि आजको प्रतिक्रियाको कालमा जनविरोधीहरुको भण्डाफोर जरुरी छ र यो जिम्मा पत्रकार साथीहरुको काँधमा आएको छ ।

 

नेवा राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष पवनमान श्रेष्ठले अब जनताका आवाजहरु प्रचार गर्ने जनताका पत्रकार क्रान्तिकारी पत्रकारहरु मात्र छन् । यो भेलामा यी कुरामा म ध्यान आकृष्ट गराउन चाहन्छु भन्दै जनताका पक्षमा हुने संघर्षहरुलाई प्राथमिकताका साथ समाचारहरु बनाएर प्रेसित गर्न आग्रह गरे ।

 

अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले पुष्पकमल दाहालहरु एमालेमा बिलय भएका छन्, विप्लवजीहरुले माओवादी विचार त्यागेका छन्, त्यसैले विचार बोकेर हिंड्ने पत्रकारहरुको आज क्रान्तिकारी माओवादीको पत्रकार संगठन क्रान्तिकारी पत्रकार महासंघ मात्र बाँकी रहेको कुरा बताए ।

 

वरिष्ठ पत्रकार हिरामणि दुखीले आजको पत्रकारिताको विरासत भनेको अभूतपूर्व संघर्षको विरासत हो भन्दै अब पनि क्रान्तिकारी पत्रकारहरुले फेरि एक पटक जमजमाएर उठी नयाँ संघर्षको इतिहास नर्माण गर्नु आवश्यक भएको कुरामा जोड दिए ।

 

पत्रकार कुमार शाहले वर्तमान बदलिएको राजनीतिक परिवेशमा फेरि क्रान्तिकारी पत्रकारहरुले नयाँ संकल्प गर्ने बेला आएको बताए ।
क्रान्तिकारी राष्ट्रिय वुद्धिजीवी मञ्चका अध्यक्ष हुकुमबहादुर सिंहले क्रान्तिकारी पत्रकारहरुले देश र जनाताको पक्षमा कलम चलाउने भएकाले त्यो स्वतः वर्तमान सत्ताका विरुद्धमा हुन्छ भन्दै पत्रकारिता अध्ययन तथा अनुसन्धानको यथार्थ अभिव्यक्ति हुनुपर्ने कुरामा जोड दिए । उनले पत्रकार देश र जनताका २४ घण्टे सेना भएकाले यो काम कठिनाइपूर्ण भएको पनि बताए ।

 

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष लक्ष्मी मुडभरीले नेपालमा क्रान्तिकारी पत्रकार र पत्रकारिताको इतिहास खोज्दा लेनिनको इस्क्रादेखि नेपाली माओवादीको जनादेशसम्मको इतिहास खोज्नु पर्ने बताइन् ।

 

नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा. डा.जगदीशचन्द्र भण्डारीले वर्तमान वाम सरकारले सर्ववर्गीय समृद्धिका कुरा गरेकाले ती संसदवादी र वर्ग समन्वयवादीहरु हुन् भन्दै उनीहरुमा विस्तारवाद तथा साम्राज्यवाद परस्तता रहेको कुरामा जोड दिए । उनीहरुको दलाल तथा नोकरशाही चरित्रका कारण देश र जनताका विरुद्धमा उनीहरु खुलेर लागि परिरहने कुरा भण्डारीले खुलस्त गरे ।भेला भाेली सम्म चल्ने छ ।