मिश्रविरुद्व उजुरी परे नपरेको अझै गोप्य, उजुरी दिने बुधबार अन्तिम दिन

काठमाडौं, भदौ २० । कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र विरुद्व उजुरी दिने समय बुधबार सकिदैं छ । संघिय संसद सचिवालयले कायममुकायम प्रधानन्यायाधीश मिश्र विरुद्व उजुरी पठाउन गत भदौ ११ गते सर्वसाधारणलाई आह्वान गरेको थियो ।

 

सचिवालयद्धारा जारी गरिएको सार्वजनिक सुचनामा उजुरीकर्ताले आफ्नो नाम, थर, वतन र सम्पर्क माध्यम स्पष्ट खुलाइ भदौ २० गते कार्यालयसमयभित्र आइपुग्ने गरी उजुरी पठाउन आग्रह गरेको थियो ।

 

आजसम्म म्याद रहेकाले उजुरीकर्ता र उजुरीहरु गोप्य रहने संसदीय सुनुवाइ समितीले जनाएको छ । परिषद्ले गत विहीवार सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मिश्रलाई सर्वसम्मतले सिफारिस गरेको थियो । परिषद्ले वरिष्ठतम्लाई सिफारिस गर्ने चलन भएकाले मिश्रलाई प्रधानन्यायाधीश सिफारिस गरेको हो ।

 

यसअघि परिषद्ले सिफारिस गरेको दीपकराज जोशीलाई संसदीय विशेष सुनुवाई समितिले अस्वीकृत गरेको थियो । जोशीविरुद्ध शैक्षिक प्रमाणपत्र र उहाँले गरेका फैसलाहरुको प्रश्न सुनुवाई समितिमा उठेपछि उहाँ अनुमोदन हुनुभएको थिएन ।

 

मिश्र सुनुवाई समितिबाट स्विकृत भए उमेरहदका कारण अगामी पुससम्म प्रधानन्यायाधीशमा बहाल हुनुहुनेछ । मिश्रले न्यायाधीशको रुपमा सम्पादन गरेका कार्य, उहाँको व्यक्तिगत र शैक्षिक विवरण लगायतका विबिध विषयमा उजुरी आएको हुनसक्ने समिती सदस्य पार्वत गुरुङले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो–‘आएका उजुरीउपर छलफल हुन्छ । सबै गोप्य भएकाले अहिले केही भन्न मिल्दैन ।’ सुनुवाई समितिका सदस्य पूर्णाकुमारी सुवेदीले पनि उजुरीबारे अहिले केही भन्न नसकिने बताउनुभयो ।

 

उजुरीहरु प्राप्त भएमा सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय वा सार्वजनिक स्थलमा टाँस्ने व्यवस्था मिलाउन सचिवालयले आग्रह गरेको छ । विगत पाँच महिनादेखि नेतृत्वबिहीन रहेकाले सर्वोच्चका नितिगत निर्णयहरू प्रभावित हुँदै आएका छन् । नेपाल समाचारपत्रबाट