असाेज ३ गते उपराष्ट्रपति पुन चीन भ्रमण जाने


काठमाडौ भदाै ३१।चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका सिचुवान प्रान्त सचिव फङ छिङह्वा र चिनियाँ जनसरकारका सिचुवान प्रान्तका गभर्नर यिन लिलेको औपचारिक निमन्त्रणामा उपराष्ट्रपति पुन चीन भ्रमण जाने भएका छन्   ।उपराष्ट्रपति नन्दबहादुर पुन ‘१७औँ चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन आगामी असोज ३ गते चीन जान लागेका हुन्।

 

उपराष्ट्रपति पुन औपचारिक भ्रमण सकेर आगामी असोज ८ गते स्वदेश फर्कने कार्यक्रम छ । अघिल्लो कार्यकालमा उपराष्ट्रपतिले दुई पटक चीनको औपचारिक भ्रमण गरिसकेका छन् । उपराष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि यो उनको पहिलो वैदेशिक भ्रमण हो । ‘

 

चीन भ्रमणका क्रममा उपराष्ट्रपतिले सिचुवान प्रान्तको राजधानी छेन्दुमा आगामी असोज ४ गतेदेखि शुरु हुने उक्त मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् । त्यस्तै उनले आगामी असोज ५ गते अन्तर्राष्ट्रिय मेलाका अवसरमा छेन्दुमा आयोजित ‘डिजिटल फोरम’लाई समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

 

भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, उपराष्ट्रपतिका स्वकीय सचिवालय र सुरक्षा अधिकारीलगायत सहभागिता हुने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।