बुलेटप्रुफ सोकेसमा राखिएको श्रीपेचमा के छ ?


काठमाडौं असाेज ३०। नारायणहिटी राजदरबार संग्रहालयमा राखिएको शाहवंशीय राजाहरूको श्रीपेच सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। गणतन्त्र स्थापनापूर्व राजाहरूले लगाउने श्रीपेच प्रधानमन्त्री केपी शर्मा ओलीले संग्रहालयमा अवलोकन गर्न मिल्ने गरी सार्वजनिक गरेका हुन्।

एक दशक अघिदेखि सार्वजनिक गर्ने भनेर पटक९पटक प्रतिवद्धता जनाएको सरकारले बल्ल श्रीपेचलाई सार्वजनिक गरेको हो। विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेच राखिएको छ। संग्रहालय जानेले अबदेखि श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, सुनको कलश, ढाल, चम्मरजस्ता महत्वपूर्ण र ऐतिहासिक सामग्री हेर्न पाउने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए।

 

२०६२(६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन राजा ज्ञानेन्द्रले राजदरबार छाडेलगत्तै नारायणहिटी राजदरबार संग्रहालयमा परिणत गरी सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको थियो। प्रधानमन्त्री हुँदा पुष्पकमल दाहालले २०६५ फागुन १५ गते संग्राहलय उद्‍घाटन गरेका थिए।

 

नेपाल गणतन्त्रात्मक राज्य घोषणा भएलगत्तै २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजदरबारलाई राष्ट्रिय संग्रहालय बनाउने घोषणा गरेका थिए। सोही वर्षको फागुन १५ गतेदेखि दरबारका १९ कक्ष खुला गरिएका थिए।

 

तर त्यो बेला श्रीपेच, राजदण्ड लगायतका १२ महत्वपूर्ण सामग्री भने सर्वसाधारणका लागि खुला गरिएका थिएनन्। यी सामग्री सुरक्षित र व्यवस्थित ढंगले सर्वसाधारणका लागि खुला गराउन विभागका महानिर्देशक दाहालको संयोजकत्वमा संस्कृति मन्त्रालयले समिति गठन गरेको थियो।

के छ श्रीपेचमा रु

श्रीपेच हीरा, मोती, माणिक, पन्ना, नवरत्न र सुनजस्ता बुहुमुल्य सामग्री जडित छ। पुरातत्व विभागका महानिर्देशक दाहालका अनुसार श्रीपेचमा सात सय ३० दाना हीरा, दुई हजार तीन सय ७२ मोती, २७ पन्ना र १६ वटा माणिक जडिएका छन्। श्रीपेचको पछिल्तिर झुन्डिएको कल्ली ुबर्ड अफ प्याराडाइजु नामको चराको पुच्छर हो। राजदण्ड र चमरमा सुन छ। तत्कालीन राजा ज्ञानेन्द्रले अन्तिम राजाका रुपमा श्रीपेच लगाएका थिए।

श्रीपेच शक्ति र पदको संकेत

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीले सभ्यता युगदेखि राजप्रतिनिधिहरूले पहिरिने मुकुटले शक्ति र पदलाई संकेत गर्ने बताए। सार्वजनिक समारोहमा उनले नेपाल संघीय गणतन्त्र भएसँगै दस वर्षपछि श्रीपेच सर्वसाधारणका लागि नारायणहिटी संग्रहालयमा प्रदर्शनमा राखिएको जानकारी दिए।

 

उनले भने, ‘नेपालको यो इतिहास अनुसन्धानकर्ताका लागि सहज हुनेछ साथै पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय सहयोग पुग्नेछ।’ संग्रहालयका उपसचिव अद्धैतप्रकाश श्रेष्ठले दैनिक एक हजार आठ सयदेखि दुई हजार दुई सयसम्मले संग्रहालय अवलोकन गर्ने जानकारी दिए।

 

संग्रहालयमा प्रवेश गर्न विद्यार्थीले २०, नेपालीले एक सय, सार्क राष्ट्र र चिनियाँ नागरिकले एक सय पचास र बाँकी देशका नागरिकले पाँच सय रुपैयाँ तिर्नुपर्छ। संग्रहालयको तथ्यांकअनुसार हालसम्म २७ लाखभन्दा बढीले अवलोकन गरिसकेका छन्। आजको अन्नपूर्णपोष्टबाट।